- आरुघाट-धादिङ जोड्ने पुलमा बेलिब्रिज जडानको तयारी ।
- चार हेलिकोप्टर र स्थलमार्गबाट ९५ जनाको उद्धार ।
- नौ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौँ ल्याइयो ।
काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीले आरुघाट-धादिङ जोड्ने मोटरेबल पुल बगाएपछि त्यहाँ बेलिब्रिज जडानको तयारी सुरु गरिएको छ । नेपाली सेनाको सैनिक इन्जिनियरिङ टोलीलाई पुल जडानको तयारीका लागि खटाइएको छ ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बाढी प्रभावितको उद्धारका लागि आज दिनभर नेपाली सेनाका एमआई-१७ सहित चारवटा हेलिकोप्टर परिचालन गरिएका थिए । हेलिकोप्टर र स्थलमार्गबाट खटिएको फौजले प्रभावित विभिन्न क्षेत्रबाट हालसम्म ९५ जनाको उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ ।
सेनाका अनुसार गोरखाको जगतबाट १७ जना, यारुबाट दुई जना, ठूलोढुङ्गाबाट १३ जना, दोभानबाट तीन जना, फिलिमबाट दुई जना, न्याक्फेदीबाट १७ जना, पायुबाट १२ जना, नामरुङबाट तीन जना, देङबाट तीन जना र धौलीबाट तीन जनाको उद्धार गरिएको छ ।
उद्धार गरिएकामध्ये नौ विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौँ ल्याइएको छ । प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ । रासस
