- नेसनल कलेजमा मनोविज्ञानको दुईवर्षे स्नातकोत्तर कार्यक्रम सञ्चालन हुने ।
- टाटा इन्स्टिच्युट अफ सोसल साइन्सेज, मुम्बईसँग सहकार्य ।
- क्लिनिकलदेखि फोरेन्सिक र ट्रमा मनोविज्ञानसम्मका विषय समेटिने ।
रे समाचार/काठमाडौँ । काठमाडौं विश्वविद्यालयबाट सम्बन्धन प्राप्त नेसनल कलेजले मनोविज्ञानमा मास्टर्स (स्नातकोत्तर) कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौं विश्वविद्यालयको कन्स्टिच्युएन्ट कार्यक्रमका रूपमा सञ्चालन हुने उक्त कार्यक्रम टाटा इन्स्टिच्युट अफ सोसल साइन्सेज, मुम्बईको सहकार्यमा अघि बढाइने कलेजले जनाएको छ ।
नेपालमा मनोविज्ञान शिक्षा, व्यावसायिक प्रशिक्षण, अनुसन्धान तथा प्रमाणमा आधारित मनोवैज्ञानिक अभ्यासलाई थप सुदृढ गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
दुई वर्ष तथा चार सेमेस्टरको उक्त स्नातकोत्तर कार्यक्रम ६० क्रेडिट आवरको हुनेछ । कार्यक्रमलाई व्यावहारिक तथा प्रयोगमुखी बनाइएको कलेजले जनाएको छ । कार्यक्रमको औपचारिक शुभारम्भ आगामी असोज २२ गते बिहीबार नेसनल कलेजको सभाहलमा गरिने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
शुभारम्भ समारोहमा काठमाडौं विश्वविद्यालयका अधिकारी, मनोविज्ञानका प्राध्यापक तथा विज्ञ, सरकारी तथा स्वास्थ्य क्षेत्रका अधिकारी, अनुसन्धानकर्ता, शिक्षाविद्, मनोवैज्ञानिक, विद्यार्थी तथा अन्य सरोकारवालाको सहभागिता रहनेछ ।

“यस मास्टर्स कार्यक्रमले शैक्षिक ज्ञान, व्यावसायिक प्रशिक्षण, अनुसन्धान र व्यावहारिक सिकाइलाई एकीकृत गर्दै व्यक्ति, समुदाय र समाजका बदलिँदा आवश्यकतालाई सम्बोधन गर्न सक्षम मनोविज्ञानका जनशक्ति उत्पादन गर्ने लक्ष्य राखेको छ,” नेसनल कलेजका प्रिन्सिपल माधवप्रसाद न्यौपानेले भन्नुभयो ।
कार्यक्रमले परिस्कृत सैद्धान्तिक ज्ञान, अनुसन्धान क्षमता, व्यावसायिक दक्षता र व्यावहारिक अनुभव भएका दक्ष मनोविज्ञानका जनशक्ति तयार गर्ने लक्ष्य राखेको छ । शिक्षा, स्वास्थ्य, सामुदायिक विकास, अनुसन्धान, संघसंस्था तथा अन्य नयाँ क्षेत्रमा दक्ष मनोविज्ञानका जनशक्तिको बढ्दो आवश्यकतालाई ध्यानमा राखेर कार्यक्रम तयार गरिएको हो ।
“समाजका विभिन्न क्षेत्रमा दक्ष र योग्य मनोविज्ञानका जनशक्तिको आवश्यकता बढ्दै गएको छ । यस कार्यक्रमले त्यही आवश्यकतालाई सम्बोधन गर्नेछ,” नेसनल कलेज मनोविज्ञान विभागकी प्रमुख प्रा. डा. रिता श्रेष्ठले भन्नुभयो ।
कार्यक्रममा मनोविज्ञानका छ वटा क्षेत्र समेटिनेछन् । जसमा क्लिनिकल मनोविज्ञान, परामर्श मनोविज्ञान, जेरोसाइकोलोजी (ज्येष्ठ नागरिकसम्बन्धी मनोविज्ञान), फोरेन्सिक मनोविज्ञान, बाल तथा किशोर मनोविज्ञान तथा समुदाय, विपद्, मानसिक स्वास्थ्य र ट्रमा मनोविज्ञान रहेका छन् ।
प्रा. डा. श्रेष्ठका अनुसार व्यक्ति, परिवार, संस्था र समाजले सामना गरिरहेका समसामयिक चुनौतीलाई सम्बोधन गर्न मनोविज्ञानको भूमिका महत्वपूर्ण बन्दै गएको छ । कार्यक्रमले शैक्षिक ज्ञानलाई व्यावहारिक तथा समुदायमा आधारित मनोवैज्ञानिक अभ्याससँग जोड्ने लक्ष्य राखेको छ ।
विद्यार्थीले मनोवैज्ञानिक सिद्धान्त तथा दृष्टिकोणको अध्ययनसँगै व्यावहारिक सिकाइमार्फत व्यावसायिक सीप विकास गर्ने, अनुसन्धानमा संलग्न हुने, प्रमाणमा आधारित ज्ञान निर्माण गर्ने तथा सुपरिवेक्षणसहितको व्यावहारिक र विषयगत अनुभव प्राप्त गर्ने अवसर पाउने कलेजले जनाएको छ ।
कार्यक्रममा व्यावसायिक नैतिकता, अनुसन्धान, समुदायसँगको सहकार्य, अन्तरविषयगत सिकाइ तथा प्रमाणमा आधारित अभ्यासलाई विशेष प्राथमिकता दिइनेछ । साथै शैक्षिक आदानप्रदान, व्यावसायिक सञ्जाल, अनुसन्धान सहकार्य तथा अन्तर्राष्ट्रिय सहभागितालाई समेत प्रोत्साहन गरिनेछ ।

कार्यक्रममा कक्षाकोठामा आधारित सिकाइ, अनुसन्धान, प्रयोगात्मक सिकाइ, सुपरिवेक्षणसहितको व्यावसायिक अनुभव तथा विषयगत अभ्यासलाई एकीकृत गरिनेछ । शिक्षण–सिकाइ पद्धतिमा व्याख्यान, सेमिनार, छलफल, केसमा आधारित सिकाइ, प्रयोगात्मक अभ्यास, विषयगत कार्य, अनुसन्धान, प्रस्तुति तथा सुपरिवेक्षणसहितको व्यावसायिक अभ्यास समावेश गरिनेछ ।
“यस कार्यक्रमले विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी वास्तविक जीवनका समस्या र परिस्थितिमा मनोवैज्ञानिक ज्ञानको प्रयोग गर्न सक्षम बनाउने लक्ष्य राखेको छ । अनुसन्धानलाई कार्यक्रमको महत्वपूर्ण अंगका रूपमा समावेश गरिएको छ,” प्रा. डा. श्रेष्ठले भन्नुभयो ।
नेसनल कलेजले यस कार्यक्रमलाई नयाँ पुस्ताका मनोविज्ञानका व्यावसायिक जनशक्ति, अनुसन्धानकर्ता, शिक्षाविद् तथा अभ्यासकर्ता तयार गर्ने महत्वपूर्ण माध्यमका रूपमा विकास गर्ने लक्ष्य राखेको छ । उनीहरूले व्यक्ति, समुदाय, संस्था र समग्र समाजको हितमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
“मनोवैज्ञानिक ज्ञान, व्यावसायिक अभ्यास, अनुसन्धान र सामाजिक उत्तरदायित्वबीचको सम्बन्धलाई अझ बलियो बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा शैक्षिक सहकार्यका अवसर सिर्जना गर्न यस कार्यक्रमले महत्वपूर्ण योगदान दिनेछ,” प्रिन्सिपल न्यौपानेले भन्नुभयो ।
मास्टर्स मनोविज्ञान कार्यक्रमको शुभारम्भले नेपालमा गुणस्तरीय उच्च शिक्षाको विस्तार तथा बदलिँदो व्यावसायिक र सामाजिक आवश्यकतालाई सम्बोधन गर्दै नवीन शैक्षिक अवसर सिर्जना गर्ने नेसनल कलेजको प्रतिबद्धतालाई प्रतिबिम्बित गर्ने कलेजले जनाएको छ ।
