RayNewsDaily
दसैँको टीकाको साइत कात्तिक ४ गते बिहान १०ः२६ बजे
  • विजयादशमीमा टीका लगाउने उत्तम साइत बिहान १०ः२६ बजे ।
  • बिहान ८ः४९ बजे देवी विसर्जनको साइत ।
  • असोज २५ गते बिहान ११ः४७ बजे घटस्थापनाको साइत ।

पूर्णप्रसाद मिश्र/काठमाडौँ । यस वर्ष विजया दशमीको टीका लगाउने उत्तम साइत कात्तिक ४ गते बुधबार बिहान १०ः२६ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिका अनुसार त्यस दिन बिहान ८ः४९ बजे देवी विसर्जन गरी बिहान १०ः२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिनेछ । टीका लगाउँदा पश्चिम मोहडा गरेर बस्नुपर्ने समितिले जनाएको छ । अर्थात् टीका लगाइमाग्ने व्यक्ति पश्चिम फर्केर टीका थाप्नुपर्नेछ ।

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि बिहान १०ः२६ बजेको साइत निर्धारण गरिएको समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिनुभयो ।

राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका तथा प्रसाद थाप्नुपर्ने उहाँले बताउनुभयो । देशका धेरै भागमा कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने चलन रहे पनि केही भागमा विजयादशमीका दिन मात्र टीका थाप्ने गरिन्छ ।

नेपालमा राष्ट्रिय चाडका रूपमा मनाइने दसैँमा विशेषगरी नवदुर्गा भवानीको पूजा तथा आराधना गरिन्छ । थातथलोभन्दा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने भएकाले दसैँमा देशभर उल्लासमय वातावरण बन्ने गर्छ ।

घटस्थापनाको साइत असोज २५ गते

यस वर्ष असोज २५ गते आइतबारदेखि नवरात्रारम्भ हुँदैछ । नवरात्रको पहिलो दिन घटस्थापनाका लागि बिहान ११ः४७ बजेको साइत शुभ रहेको समितिले जनाएको छ । उक्त दिन चित्रा नक्षत्र र वैधृति योगसमेत रहेकाले घटस्थापनाअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गर्नुपर्ने अध्यक्ष भट्टराईले बताउनुभयो ।

असोज २६ गते झण्डा फेर्ने उत्तम साइत बिहान १०ः०७ बजे रहेको छ । झण्डा फेर्दा पनि पश्चिम मोहडा गरेर फेर्नुपर्ने समितिले जनाएको छ ।

असोज २९ गते बिहीबार पचलीभैरव यात्रा हुनेछ । असोज ३१ गते शनिबार फूलपाती पर्व परेको छ । सोही दिन बिहान ७ः३७ बजे तुलजा भवानी यात्राको साइत तथा बिहान १०ः३९ बजे तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत रहेको छ ।

कात्तिक १ गते आइतबार महाअष्टमी तथा राति कालरात्रि पर्व मनाइनेछ । कात्तिक २ गते सोमबार पनि अष्टमी तिथि परेको छ । कात्तिक ३ गते मङ्गलबार महानवमी र कात्तिक ४ गते बुधबार विजयादशमी पर्व परेको छ ।

विजयादशमीका दिन बिहान १०ः५१ बजे तुलजा भवानी यात्राको साइत तथा ११ः५२ बजे तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत रहेको समितिले जनाएको छ । खड्गयात्रा पनि सोही दिन हुनेछ ।

कात्तिक ८ गते आइतबार सबै बलिपूर्ति गर्नुपर्नेछ । सोही दिन कोजाग्रतव्रत तथा पूर्णिमा व्रत परेको छ । बेलुकी घरघरमा धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरेपछि १५ दिन लामो दुर्गा पक्ष अर्थात् दसैँ पर्व समापन हुनेछ । कात्तिक ९ गते सोमबार कोजाग्रत पूर्णिमा परेको समितिले जनाएको छ ।

दसैँ नजिकिएसँगै बजारमा समेत चहलपहल बढेको छ । सरकारले दसैँका अवसरमा सहुलियत मूल्यमा खाद्यपदार्थ बिक्री वितरण गर्न सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

दसैँमा विशेषगरी बालबालिकाले पिङ खेल्ने तथा चङ्गा उडाउने गर्छन् । देवीको पूजा तथा उपासना गर्नुका साथै देशभरका शक्तिपीठमा भक्तजनको विशेष उपस्थिति हुने गर्छ । शक्तिपीठमा बलिसहित पूजा गर्ने भक्तजनको समेत बाक्लो उपस्थिति रहने गर्दछ । रासस

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १९:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update