- बाढीले डाइभर्सन बगाएपछि पुनर्निर्मित सडकबाटै आवागमन ।
- दसैँमा अवरोध भए आधा घण्टामै सडक खुलाउने तयारी ।
- क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति ।
काभ्रेपलाञ्चोक । दुई वर्षअघिको बाढीपहिरोले क्षति पुर्याएको बिपी राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा हाल पुनर्निर्मित सडकबाटै सवारीसाधन सञ्चालन भइरहेका छन् । आउँदै गरेको दसैँलाई लक्षित गरी आवागमन थप सहज बनाउन मर्मत तथा व्यवस्थापनको काम भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
विसं २०८१ असोजको बाढीपहिरोले करिब ३० किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो । त्यसपछि रोशी खोलामा अस्थायी डाइभर्सन निर्माण गरी सवारीसाधन सञ्चालन गरिँदै आएको थियो । तर, यही असोजको पहिलो साताको अविरल वर्षासँगै आएको बाढीले डाइभर्सन बगाएपछि अहिले पुनर्निर्मित सडकबाटै आवागमन भइरहेको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार एक-दुई स्थानमा साँघुरो भएकाले डाइभर्सन बनाएर दुईतर्फी आवागमन गराइएको छ । चौकीडाँडा र पिन्थलीका भिराला क्षेत्रमा मर्मत भइरहेको छ । डालाबेँसी-पिप्ले सडकखण्डको करिब २०० मिटरमा पनि डाइभर्सनबाट यातायात सञ्चालन गरिएको छ ।
पुनर्निर्मित सडकबाटै आवागमन भइरहे पनि हाल जामको समस्या नरहेको योगेशले बताउनुभयो । वर्षाका कारण सडक माथिबाट लेदो वा पहिरो खसेर अवरुद्ध भए आधादेखि केही घण्टाभित्र सडक खुलाउन आवश्यक सामग्रीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।
“दसैँमा यात्रा सहजताका लागि थप मर्मतकार्य भइरहेको छ”, उहाँले भन्नुभयो ।
असोज ८ गतेदेखि परेको अविरल वर्षाका कारण डाइभर्सन बग्नुका साथै पहिरो र लेदोले सडक अवरुद्ध हुँदा बिपी राजमार्ग पाँच दिन पूर्ण रूपमा बन्द भएको थियो । त्यसपछि पुनर्निर्मित पुरानै सडक ट्र्याकबाट सवारी आवागमन सञ्चालन गरिएको योगेशले बताउनुभयो । यसका लागि पछिल्ला केही महिनादेखि पुनर्निर्माणको काम तीव्र पारिएको थियो ।
नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीको मार्गका रूपमा रहेको बिपी राजमार्गमा यसअघि वर्षा हुनासाथ रोशी खोलाको बाढीले अस्थायी डाइभर्सन बगाउँदा आवागमन अवरुद्ध हुने गरेको थियो ।
हाल वर्षाका कारण राजमार्ग अवरुद्ध हुन नदिन र अवरुद्ध भइहाले उपकरण प्रयोग गरी छिटो खुलाउन तयारी गरिएको कार्यालयले जनाएको छ । दसैँलाई लक्षित गरी आधा घण्टाभित्र सडक खुलाउने लक्ष्यसहित आवश्यक उपकरण तयारी अवस्थामा राखिएको योगेशले बताउनुभयो ।
उहाँका अनुसार साविककै स्थानमा पुनर्निर्माण भएका अधिकांश खण्डबाट भदौदेखि नै आवागमन भइरहेको छ । चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, बोक्सीकुना, चिउरीबास, कालढुङ्गा तथा पिप्ले-बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त स्थानका रूपमा पहिचान गरिएको छ ।
क्षतिग्रस्त सडकका अधिकांश स्थानमा ग्राभेल गर्ने काम भएको छ । केही स्थानमा ठूला ढुङ्गा राखेर सडक तयार गरिएको छ । वर्षायामअघि खोलाबाट सात मिटर उचाइसम्म सडक बनाएर ग्राभेल गरिएको थियो । हिउँदमा खोलाबाट करिब १० मिटर उचाइसम्म सडक निर्माण गरी कालोपत्र गरिने जनाइएको छ । कतिपय स्थानमा आरसिसी पर्खालको जग निर्माण सम्पन्न भई अन्य काम भइरहेको छ । ट्र्याक निर्माण भएका सडकमा ग्राभेल गरिएकाले सवारी सञ्चालनमा समस्या नहुने कार्यालयको भनाइ छ ।
क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि सरकारले आठ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ । त्यसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि सात अर्ब ५० करोड र सिन्धुलीतर्फको एक सडकखण्डका लागि एक अर्ब रुपैयाँ छुट्याइएको छ ।
क्षतिग्रस्त चार खण्डमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनर्निर्माण गरिरहेको छ । जाइकाले उक्त खण्डमा माटो भर्ने र ठूला ढुङ्गा राख्ने काम गरेको छ । वर्षाका समयमा पनि यस खण्डमा खोलाबाट सवारीसाधन चलाउनुपर्ने अवस्था नरहेको योगेशले बताउनुभयो ।
राजमार्गको काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेज बनाएर ठेक्का सम्झौतामार्फत निर्माण अघि बढाइएको छ ।
पुनर्निर्माणका क्रममा राजमार्गलाई स्तरोन्नति गरी दुई लेनको बनाइने भएको छ । पुनर्निर्माण हुने सडकखण्डमा दुई लेनको सडकसँगै पुलहरू पनि दुई लेनका बनाइने योगेशले बताउनुभयो । पाँचवटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ । त्यस्तै, तीन सडकखण्डमा ६.३ किलोमिटर आरसिसी पर्खाल निर्माण गरिनेछ ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि धुलिखेल-सिन्धुली-बर्दिवास खण्डको १६० किलोमिटर लामो बिपी राजमार्ग निर्माण सुरु गरिएको थियो । निर्माण सम्पन्न भएपछि जापान सरकारले विसं २०७२ असार १८ गते औपचारिक रूपमा नेपाल सरकारलाई राजमार्ग हस्तान्तरण गरेको थियो । रासस
