- चार हेलिकप्टर र स्थलमार्गबाट ९५ जनाको उद्धार ।
- ९ विदेशी नागरिकसहित ३५ जनालाई काठमाडौँ ल्याइयो ।
- आरुघाट-धादिङ जोड्ने पुलमा बेलिब्रिज जडानको तयारी ।
रे समाचार/काठमाडौँ । बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रबाट हालसम्म ९५ जनाको उद्धार गरिएको छ । नेपाली सेनाले चारवटा हेलिकप्टर र स्थलमार्गबाट परिचालित फौजमार्फत उनीहरूको उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको जनाएको छ ।
नेपाली सेनाले आइतबार साँझ ७ बजे सार्वजनिक गरेको विवरणअनुसार उद्धार गरिएकामध्ये ९ जना विदेशी नागरिकसहित ३५ जनालाई आरुघाटबाट काठमाडौँ ल्याइएको छ ।
सेनाका अनुसार जगतबाट १७ जना, यारुबाट २२ जना, ठूलोढुङ्गाबाट १३ जना, दोभानबाट तीन जना, फिलिमबाट दुई जना, न्याक्फेदीबाट १७ जना, पायुबाट १२ जना, नामरुङबाट तीन जना, देङ्गबाट तीन जना र धौलीबाट तीन जनाको उद्धार गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालासँग समन्वय गरी खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ ।
यसैबीच, बाढीले बगाएको आरुघाट-धादिङ जोड्ने मोटरेबल पुलमा बेलिब्रिज जडान गर्ने तयारीका लागि नेपाली सेनाको इन्जिनियरिङ टोली खटिएको छ ।
