रे न्यूज विशेष रिपोर्ट/विराटनगर । नेपालको आधुनिक राजनीतिमा केही नाम यस्ता छन्, जसको चर्चा उमेरभन्दा बढी उनीहरूले उठाएका मुद्दा र स्थापित नेतृत्वसँग गरेका प्रश्नका कारण हुने गर्दछन् । नेपाली कांग्रेसका नव निर्वाचित सभापति गगनकुमार थापा त्यस्तै एक नेता हुनुहुन्छ भन्दा फरक पर्दैन ।
विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिमा प्रवेश गरेका थापा अब नेपाली कांग्रेसको नेतृत्वमा पुग्नु भएको छ । पार्टीको १५औँ महाधिवेशनमा ६ हजार ५ सय ८४ मत प्राप्त गरी सभापति निर्वाचित हुनुले उहाँको राजनीतिक यात्रामा नयाँ अध्याय थपेको छ ।
तर यो केवल एउटा पदमा पुग्ने कथा मात्र होइन । यो पुरानो राजनीतिक शैलीसँग असहमति जनाउँदै परिवर्तनको माग गर्ने र त्यही परिवर्तनलाई आफ्नै पार्टीभित्र कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी बोकेको नेताको यथार्थ कथा पनि हो ।
गगन थापाको राजनीतिक चेतना २०४६ सालको जनआन्दोलनकै समयदेखि विकसित भएको देखिन्छ । त्रिचन्द्र क्याम्पसमा अध्ययन गर्दा उहाँ नेपाल विद्यार्थी संघको राजनीतिमा सक्रिय हुनुभयो । स्ववियु सदस्यदेखि सभापति र नेपाल विद्यार्थी संघको केन्द्रीय महामन्त्रीसम्मको यात्राले उहाँलाई विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिको मञ्चमा पुर्यायो ।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा उहाँ सक्रिय रहनु भयो । गणतन्त्रको पक्षमा आवाज उठाउँदा उहाँले गिरफ्तारी र राजनीतिक दबाबसमेत सामना गर्नुपर्यो । पार्टीका तत्कालिन सभापति गिरिजा प्रसाद कोइराला गगन थापाको गणतन्त्रको माग प्रति कठोर हुनुुहुन्थ्यो । तर गगन कुमार थापा पछि हट्नु भएन । अन्ततः राजतन्त्र समाप्त भइ गणतन्त्र स्थापना भयो ।
२०६२/६३ को जनआन्दोलनपछि गगन कुमार थापाको पहिचान अझ फराकिलो बन्यो । थापा केवल पार्टीका कार्यकर्ता रहनु भएन, राजनीतिक परिवर्तनका पक्षमा बोल्ने युवा नेताका रूपमा पनि स्थापित हुनुभयो ।
त्यसबेला उठाएका मुद्दा र आज उहाँले नेतृत्व गरिरहेको पार्टीबीचको सम्बन्धलाई हेर्दा एउटा प्रश्न महत्त्वपूर्ण देखिन्छ-राजनीतिक परिवर्तनको पक्षमा उभिएको नेतृत्वले पार्टीको आन्तरिक संरचनामा पनि परिवर्तन ल्याउन सक्छ कि सक्दैन ?
२०६४ सालको संविधानसभाको निर्वाचनपछि समानुपातिक प्रतिनिधिका रूपमा संसद् प्रवेश गर्नुभएका थापाले त्यसपछि प्रत्यक्ष निर्वाचनमार्फत पनि राजनीतिक उपस्थिति स्थापित गर्नुभयो । काठमाडौं क्षेत्र नम्बर ४ बाट लगातार तीन पटक प्रतिनिधिसभामा निर्वाचित हुनु उहाँको संसदीय यात्राको महत्त्वपूर्ण उपलब्धि रह्यो ।
कृषि तथा जलस्रोत समितिमा काम गर्नुभएका थापाले २०७३ सालमा स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत सम्हाल्नु भयो । उहाँको कार्यकालमा राष्ट्रिय स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने र सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने विषयले विशेष महत्व पायो ।
संसदमा सरकारका काममाथि प्रश्न उठाउने र सार्वजनिक मुद्दामा धारणा राख्ने शैलीले उहाँलाई समर्थक तथा आलोचक दुवैको ध्यानमा राख्यो । तर संसदीय राजनीतिमा लोकप्रिय हुनु र पार्टीको सम्पूर्ण संगठनलाई एउटै दिशामा अघि बढाउनु फरक जिम्मेवारी हुन् । थापाको आगामी राजनीतिक परीक्षाको केन्द्र पनि यही भिन्नता बन्नेछ ।
नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन र पुस्तान्तरणको बहस नयाँ होइन । तर गगन कुमार थापा, विश्वप्रकाश शर्मा र गुरुराज घिमिरेलगायतका नेताहरूले यसलाई पार्टीको भावी दिशा र संगठनात्मक सुधारसँग जोडेर उठाएपछि बहस थप तीव्र बन्यो ।
शेरबहादुर देउवाको नेतृत्वमा लामो समय अघि बढेको पार्टीमा नयाँ पुस्ताले नेतृत्वदायी भूमिका खोज्नु स्वाभाविक राजनीतिक आकांक्षा थियो । तर नेतृत्व परिवर्तनको मागलाई व्यवहारमा उतार्ने क्रममा पार्टीभित्र विभिन्न मतभेदहरु गहिरिए ।
२०७८ सालको १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित हुनु भएका थापाले पार्टी नेतृत्वका लागि आफ्नो दाबी क्रमशः बलियो बनाउँदै लग्नु भयो । २०७९ सालको निर्वाचनपछि संसदीय दलको नेतामा देउवासँग प्रतिस्पर्धा गरे पनि उहाँ सफल हुनुभएन । त्यसपछि पार्टीको नेतृत्व, कार्यशैली र राजनीतिक जवाफदेहिताबारे उहाँले उठाएका प्रश्नहरू अझ महत्त्वपूर्ण बने । विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएको उहाँको पहिलो राजनीतिक अध्यायपछि १५औँ महाधिवेशनको परिणामले नेतृत्वमा उहाँको स्थानलाई थप संस्थागत गरेको छ ।
२०८२ भदौं २३ र २४ गतेको जेनजी आन्दोलनले नेपालको परम्परागत राजनीतिक नेतृत्वसमक्ष गम्भीर प्रश्नहरू खडा गर्यो । सुशासन, भ्रष्टाचार नियन्त्रण, अवसरको समानता र राजनीतिक जवाफदेहिताको माग सडकमा मात्र सीमित रहेन; यसले दलहरूको भविष्य र नेतृत्वको कार्यशैलीबारे पनि बहस सिर्जना गर्यो ।
यस परिवर्तनको दबाबबाट नेपाली कांग्रेस पनि अलग रहन सकेन । नेतृत्व परिवर्तनको माग र पार्टीभित्रको संघर्ष यही व्यापक राजनीतिक सन्दर्भमा अघि बढे । गगन कुमार थापा सामु अब चुनौती केवल पुरानो नेतृत्वको विकल्प बनेर देखिनु मात्र होइन । पार्टीको संगठन, निर्णय प्रक्रिया र सार्वजनिक छविमा परिवर्तन ल्याउनु पनि हो ।
युवाहरूको विश्वास प्राप्त गर्ने दाबीलाई रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन र भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा देखिने परिणामसँग जोड्नुपर्नेछ । किनभने राजनीतिक नाराको प्रभाव समयसँगै घट्न सक्छ, तर नागरिकले भोग्ने परिवर्तनले नेतृत्वको मूल्याङ्कन निर्धारण गर्छ । यस विषयमा सभापति थापा अझ गम्भिर हुनु आवश्यक छ ।
६ हजार ५ सय ८४ मतसहितको विजयले गगन कुमार थापालाई पार्टीभित्र बलियो जनादेश दिएको छ । तर मतको संख्या जति महत्त्वपूर्ण छ, त्यसले सुम्पिएको जिम्मेवारी पनि उत्तिकै ठूलो छ भन्ने कुरा थापा र उहाँको टिमले विर्सनु हुँदैन ।
पार्टीभित्र फरक मत राख्ने नेता तथा कार्यकर्तालाई समेट्नु, पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको आकांक्षाबीच सन्तुलन कायम गर्नु साथै संगठनलाई गुटगत प्रतिस्पर्धाभन्दा माथि उठाउनु थापाका अगाडिका महत्त्वपूर्ण चुनौती र कार्य दुवै हुन् ।
नेपाली कांग्रेसको ऐतिहासिक विरासत लोकतान्त्रिक आन्दोलनसँग जोडिएको छ । अब त्यो विरासतलाई वर्तमान पुस्ताको अपेक्षासँग कसरी जोड्ने भन्ने प्रश्न नयाँ नेतृत्वसामु छ । गगन कुमार थापाको राजनीतिक यात्राले विद्यार्थी आन्दोलनदेखि पार्टीको सर्वोच्च नेतृत्वसम्मको लामो बाटो तय गरेको छ । अबको इतिहास थापाले कति ठूलो पद प्राप्त गर्नुभयो भन्ने कुराले मात्र होइन, त्यो पदबाट पार्टी र जनताका लागि कस्तो परिणाम सृजना भयो भन्ने कुराले लेखिनेछ ।
त्यसैले परिवर्तनको माग गर्दै अघि बढेको नेतृत्वका लागि सबैभन्दा ठूलो परीक्षा आफूले उठाएका प्रश्नहरूको जवाफ आफ्नै नेतृत्वबाट दिन सक्नु पनि हो ।
नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन कुमार थापालाई सफल कार्यकालका लागि हार्दिक शुभकामना ।
