RayNewsDaily
विज्ञापन उद्योगलाई स्वचालित र सशक्त बनाउन सरकार तयार : सञ्चारमन्त्री तिमिल्सिना
  • विज्ञापन क्षेत्रको विकासमा सरकार सहकार्य गर्न तयार ।
  • विज्ञापन बजारका समस्या र अवरोध पहिचान गरी समाधान खोज्नुपर्ने ।
  • प्रविधिसँगै विज्ञापन उद्योगको दीर्घकालीन नीति आवश्यक ।

ललितपुर । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले विज्ञापन क्षेत्रलाई स्वचालित र सशक्त उद्योगका रूपमा विकास गर्न सरकार तयार रहेको बताउनुभएको छ ।

नेपाल विज्ञापन सङ्घ (आन)द्वारा आज ललितपुरमा आयोजित १३औँ रेड बुल कृति अवार्डको प्रतीक चिह्न (लोगो) सार्वजनिक समारोहमा मन्तव्य राख्नुहुँदै उहाँले विज्ञापन बजारको विकासका लागि क्षेत्रका समस्या, चुनौती र कमजोरीको निर्मम समीक्षा गरी समाधानका लागि ठोस पहल आवश्यक रहेको बताउनुभयो ।

“विज्ञापन व्यवसायसँग मात्र नभई संस्कृति, देशको पहिचान, सञ्चारमाध्यम, लोकतन्त्र, सिर्जनशीलता र समग्र अर्थतन्त्रसँग जोडिएको क्षेत्र हो । विज्ञापन उद्योगको विकासले समग्र अर्थतन्त्रसँगै लोकतान्त्रिक अभ्यास र सञ्चार क्षेत्रलाई समेत सकारात्मक योगदान पुर्‍याउन सक्छ”, उहाँले भन्नुभयो ।

विज्ञापन क्षेत्र अपेक्षाअनुसार अघि बढ्न नसक्नुका कारण पहिचान गर्नुपर्नेमा जोड दिँदै मन्त्री डा तिमिल्सिनाले त्यसका अवरोध र चलखेल पहिल्याएर आवश्यक हस्तक्षेपमार्फत समाधान खोज्नुपर्ने बताउनुभयो । विज्ञापन बोर्ड, विज्ञापन नीति तथा सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा सरोकारवालाबीच खुला र आलोचनात्मक छलफल आवश्यक रहेको उहाँको भनाइ थियो ।

प्रविधिको विकाससँगै विज्ञापन बजारको स्वरूपसमेत तीव्र रूपमा परिवर्तन भइरहेको उल्लेख गर्दै उहाँले आगामी पाँचदेखि १० वर्षमा नेपालको विज्ञापन उद्योगले लिनुपर्ने दिशा र प्रविधिले पार्ने प्रभावबारे दीर्घकालीन नीति निर्माणमा क्षेत्रका सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

“विज्ञापन क्षेत्रलाई कुनै व्यक्ति वा संस्थाको नियन्त्रणमा नभई आफ्नै क्षमतामा उभिन सक्ने र स्वचालित उद्योगका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ । सरकारले विज्ञापन क्षेत्रको महत्त्व बुझेको छ, यसको विकासका लागि आवश्यक सहकार्य गर्न सरकार तयार छ”, उहाँले भन्नुभयो ।

कृति अवार्डले विज्ञापन क्षेत्रका विभिन्न विधा र सिर्जनालाई समेट्दै नेपाली विज्ञापन बजारलाई पुनः ऊर्जाशील र जीवन्त बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्दै मन्त्री डा तिमिल्सिनाले अवार्डमा व्यापक सहभागिता हुने तथा नेपाली विज्ञापन क्षेत्रको क्षमता र उपस्थिति उजागर हुने अपेक्षा व्यक्त गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले विज्ञापनलाई खर्चका रूपमा मात्र नभई ब्रान्ड, उपभोक्ता विश्वास र दीर्घकालीन बजार मूल्य निर्माण गर्ने रणनीतिक लगानीका रूपमा लिनुपर्ने बताउनुभयो ।

नेपाल चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले सरकारले निजी क्षेत्रलाई राजस्व सङ्कलनको क्षेत्रका रूपमा मात्रै नलिएर अर्थतन्त्रको साझेदारका रूपमा लिनुपर्ने धारणा राख्नुभयो ।

सञ्चार उद्यमी एवं नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष भाष्करराज राजकर्णिकारले नेपाली विज्ञापन क्षेत्रमा सिर्जनात्मक कामको प्रशंसा गर्दै नेपाली अर्थतन्त्रलाई विज्ञापन क्षेत्रबाट उर्वर बनाउने अभिप्रायले विज्ञापन बजारको गुणात्मक विकासका लागि कृति अवार्ड स्थापना गरिएको जानकारी गराउनुभयो । रासस

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  २१:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update