RayNewsDaily
प्रधानमन्त्री शाहको आग्रह : बूढीगण्डकीका जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहनू
  • बाढी प्रभावित क्षेत्रमा उद्धार तीव्र, पाँच जना बेपत्ता ।
  • ४८ जनाको उद्धार, ४३७ सुरक्षाकर्मी परिचालन ।
  • आरुघाटमा बेलिब्रिज जडान र सडक सञ्चालनको तयारी ।

रे समाचार/काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन, जोखिमयुक्त पुल र सडकबाट आवतजावत नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गर्नुभएको छ ।

गोरखाको चुमनुव्री गाउँपालिका-६ स्थित लोक्पा र चुम्लिङको बीचमा आज बिहान गएको पहिरोका कारण बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आएको हो । बाढीले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । बाढीमा परी पाँच जना बेपत्ता भएको सूचना प्राप्त भएको र उनीहरूको खोजी तीव्र पारिएको प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको विवरणमा उल्लेख छ ।

बाढीले झोलुङ्गे तथा पक्की पुल, टेलिफोन टावर, बिजुलीका पोल, निर्माणाधीन बूढीगण्डकी हाइड्रोको क्याम्प क्षेत्र, निर्माण उपकरण र आसपासका घर बगाएको छ ।

प्रभावित गोरखाको सल्लेरीस्थित निर्माणाधीन बूढीगण्डकी हाइड्रोका १२ कर्मचारीसहित ४८ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ । प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी छ ।

उद्धार तथा प्रतिकार्यका लागि नेपाली सेनाका तीनवटा स्पेसल फोर्ससहित १२७ जना, नेपाल प्रहरीका १३३ जना र सशस्त्र प्रहरी बल नेपालका १७७ जना गरी ४३७ सुरक्षाकर्मी परिचालन गरिएको छ । नेपाली सेनाका चारवटा हेलिकोप्टरसमेत प्रभावित क्षेत्रमा खटिएका छन् ।

घटनाको कारण पत्ता लगाउन भूगर्भविद्सहित तीन जनाको टोली ड्रोन लिएर परिचालन गरिएको छ । नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्रमा थप ५० जनाको टोलीलाई परिचालनका लागि तयारी अवस्थामा राखिएको छ ।

बाढीको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आरुघाटबाट प्रहरी टोली परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको थियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहान ६ बजे गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई तत्काल परिचालन हुन एसएमएस पठाएको थियो । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले गोरखा, धादिङ र चितवनको बेनिघाटसम्मका सर्वसाधारणलाई दुई पटक गरी करिब दुई लाख एसएमएसमार्फत पूर्वसूचना सम्प्रेषण गरेको छ ।

प्रभावित क्षेत्रमा स्थल तथा हवाई मार्गबाट अत्यावश्यक राहत सामग्री ढुवानी भइरहेको छ । सडक विभाग र स्थानीय पूर्वाधार विकास विभागका महानिर्देशकसहितको टोली सडक सञ्चालन तथा बेलिब्रिज जडानको सम्भाव्यता अध्ययनका लागि खटिएको छ । आरुघाटमा बेलिब्रिज जडानको तयारीसमेत सुरु गरिएको छ ।

गोरखा, लमजुङ र तनहुँका जिल्लास्तरीय द्रुत प्रतिकार्य टोली तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा राखिएको छ । प्रभावित क्षेत्रमा अलपत्र परेका पर्यटकको उद्धारका लागि सम्बन्धित मन्त्रालय र कम्पनीलाई निर्देशन दिइएको छ ।

प्रधानमन्त्री शाहका अनुसार विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक निरन्तर भइरहेको छ । बाढीको अवस्था अनुगमन, जोखिम विश्लेषण, सूचना सम्प्रेषण र उद्धार कार्यका लागि सम्बन्धित निकायबीच समन्वय तथा सहजीकरण भइरहेको छ ।

सरकारले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन र क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालन गर्न आवश्यक कदम अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update