RayNewsDaily
बेत्रावतीमा नेपाली सेनाले बनाएको पुल सडक आयोजनालाई हस्तान्तरण
  • फलाखु खोलामा ७३.२ मिटर लामो एक्रो ब्रिज निर्माण सम्पन्न ।
  • ४० टन भार क्षमताको पुल गल्छी-रसुवागढी सडक आयोजनालाई हस्तान्तरण ।
  • रसुवा र नुवाकोटमा आवतजावत तथा राहत सामग्री ढुवानी सहज हुने ।

रे समाचार/काठमाडौँ । नेपाली सेनाले नुवाकोट र रसुवाको सिमानामा पर्ने बेत्रावतीस्थित फलाखु खोलामा निर्माण गरेको एक्रो ब्रिज गल्छी-रसुवागढी सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाले आइतबार पुल हस्तान्तरण गरेको हो ।

गत भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि सेनाले पुनर्निर्माण कार्यअन्तर्गत उक्त पुल निर्माण गरेको हो ।

bridge2-1791705134.jpeg
पुल निर्माणका लागि सेनाले फलाखु खोलामा करिब ३०० मिटर सडक खण्डमा कठिन चट्टान फुटाएर पहुँचमार्ग बनाएको थियो । त्यसपछि असोज २० गतेदेखि सुरु गरिएको पुल जडान कार्य असोज २४ गते सम्पन्न भएको नेपाली सेनाले जनाएको छ ।

निर्माण गरिएको एक्रो ब्रिज २४० फिट अर्थात् ७३.२ मिटर लामो र १८ फिट अर्थात् ५.५ मिटर चौडा छ । पुलले ४० टनसम्म भार बहन गर्न सक्छ ।

bridge3-1791705195.jpeg
पुल सञ्चालनमा आएसँगै नुवाकोट र रसुवाका नागरिकलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । साथै, बाढी प्रभावित क्षेत्रमा राहत सामग्री तथा अत्यावश्यक वस्तुको ढुवानीमा समेत सहयोग पुग्ने विश्वास लिइएको छ ।

 

प्रकाशित मिति: आइतबार, असोज २५, २०८३  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update