- जगतमा १०० भन्दा बढी विदेशी पर्यटक रोकिए ।
- लोक्पामा १७ र छेकम्पारमा ४० पर्यटक उद्धारको पर्खाइमा ।
- पर्यटक, भरिया र पथप्रदर्शकको उद्धारका लागि पहल ।
गोरखा । बूढीगण्डकी नदीमा आज बिहान आएको बाढीले पदमार्गमा क्षति पुर्याएपछि गोरखाको मनास्लु संरक्षण क्षेत्रतर्फ गएका पर्यटक बीचमै रोकिएका छन् । उनीहरू गन्तव्यमा पुग्न नसकेपछि उद्धारको पर्खाइमा छन् ।
मनास्लु संरक्षण क्षेत्र आयोजनाका संरक्षण अधिकृत भुवनराज ओझाका अनुसार सबै पर्यटक सुरक्षित स्थानमा छन् । उनीहरूको उद्धारका लागि पहल भइरहेको छ ।
मनास्लु संरक्षण क्षेत्रको प्रवेशद्वार मानिने चुमनुब्री गाउँपालिका-३ जगतमा १०० भन्दा बढी विदेशी पर्यटक रोकिएका छन् । शनिबार ९८ जना विदेशी पर्यटक संरक्षण क्षेत्रमा प्रवेश गरेका थिए । रातिसम्म जगत आइपुगेका अन्य पर्यटक पनि त्यहीँ सुरक्षित रूपमा रहेको ओझाले बताउनुभयो ।
“हेलिकप्टरबाट उद्धारका लागि पहल भइरहेको छ”, उहाँले भन्नुभयो ।
बाढीले मनास्लु जाने मुख्य पदमार्ग र झोलुङ्गे पुललगायत संरचनामा क्षति पुर्याएपछि पर्यटकको आवतजावत रोकिएको हो । चुमनुब्री गाउँपालिका-६ लोक्पामा पनि १७ जना पर्यटक उद्धारको पर्खाइमा छन् । त्यस्तै, चुम उपत्यकाको छेकम्पारमा ४० जना पर्यटक रहेको संरक्षण अधिकृत ओझाले जानकारी दिनुभयो ।
विदेशी पर्यटकसँगै भरिया र पथप्रदर्शक पनि बाटोमै रोकिएका छन् । उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यमा पुर्याउन स्थानीय तह र सुरक्षा निकायसँग समन्वय भइरहेको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताउनुभयो ।
“मनास्लु संरक्षण क्षेत्रमा कति पर्यटक छन् भनेर तथ्याङ्क लिने र उनीहरूको उद्धार तथा सुरक्षित आवागमनको सुनिश्चितताका लागि पहल भइरहेको छ”, उहाँले भन्नुभयो, “मुख्य पर्यटकीय याममा भइरहेका प्राकृतिक विपद्का घटनाले पर्यटन क्षेत्रमा असर पुगेको छ ।” रासस
