- दुई महिला र तीन पुरुष बेपत्ता, खोजी जारी ।
- सेनाका चार हेलिकप्टर उद्धारमा परिचालित, ४७ जनाको उद्धार ।
- बाढीले घर, पुल, विद्युत्का खम्बा र जलविद्युत् आयोजनामा क्षति ।
गोरखा । गोरखाको चुमनुव्री गाउँपालिका-६ लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेपछि बूढीगण्डकी नदीमा आएको बाढीमा परी पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा दुई महिला र तीन पुरुष छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुव्री गाउँपालिका-६ चुम्चेतको उङ्गिलुङका उनीहरू भेडीगोठमा रहेका बेला बेपत्ता भएका हुन् ।
बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे पुल, पक्की पुल, विद्युत्का खम्बा र टेलिफोन टावरमा क्षति पुर्याएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो । उहाँका अनुसार धार्चे गाउँपालिका-३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचना र आसपासका सातदेखि आठवटा घर बगाएको छ ।
चुमनुव्री गाउँपालिका-३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ । सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको महतले जानकारी दिनुभयो । धार्चे गाउँपालिका-५ माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुलसमेत बाढीले बगाएको छ ।
आरुघाट गाउँपालिका-९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ । त्यस्तै, आरुघाट गाउँपालिका-२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ ।
माछीखोलाको तल्लो बस्तीमा बाढी पसेपछि त्यहाँका २० देखि २२ घर जोखिममा परेका छन् । बाढीले बूढीगण्डकी जलविद्युत् आयोजनाको ३४१ मेगावाट क्षमताको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणसमेत बगाएको छ । दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत्का खम्बामा पनि क्षति पुगेको महतले बताउनुभयो ।
बाढीको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ । खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जना प्रहरी खटिएका छन् । सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई पनि सुरक्षित स्थानमा सारिएको छ ।
उद्धारमा ४३७ सुरक्षाकर्मी परिचालित
बूढीगण्डकी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले नेपाली सेनाका चारवटा हेलिकप्टर खोज तथा उद्धारमा परिचालन गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार सेनाको हेलिकप्टरबाट हालसम्म ४७ जनाको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ ।
बाढी गएको सूचना प्राप्त भएपछि गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो । साथै, गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई परिचालनका लागि सूचना पठाइएको उप्रेतीले बताउनुभयो । रासस
