- बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना परिचालन ।
- पहिरोको जोखिममा रहेको जगतबाट ६ जनाको हवाई उद्धार ।
- उद्धार, राहत र सुरक्षित स्थानान्तरणका लागि हेलिकप्टर परिचालन ।
रे समाचार/गोरखा । प्रधानमन्त्री बालेन्द्र शाहले बूढीगण्डकी नदीमा आएको बाढीपछि पहिरोको जोखिममा रहेको गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको जानकारी दिनुभएको छ ।
प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि नेपाली सेनाको फौज हवाई तथा स्थलमार्गबाट परिचालन गरिएको जानकारी दिनुभएको हो ।
उहाँका अनुसार काठमाडौँमा रहेको कम्पोजिट क्विक रियाक्सन टिमसमेत हवाई साधनबाट प्रभावित क्षेत्रमा तैनाथ भएको छ । बूढीगण्डकी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएका छन् ।
बुढीगण्डकी नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा थप जोखिम हुन नदिन उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिइएको छ । नदी आसपास तथा पहिरोको जोखिममा रहेका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानमा जान आग्रह गरिएको छ ।
आपत्कालीन सम्पर्क नम्बर
-
एम्बुलेन्स : १०२
-
जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र (DEOC) : १२३४
-
जिल्ला प्रहरी कार्यालय, गोरखा : ९८५६०६११९०
-
सहायक प्रमुख जिल्ला अधिकारी : ९८५६०५७७७८
