RayNewsDaily
आन्तरिक पर्यटकको गन्तव्य बन्दै वौडेश्वर झरना       
आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकास हुँदै गएको टोखा नगरपालिका-१ मा अवस्थित वौडेश्वर झरना तथा मन्दिर । तस्वीर : व्याकुल पाठक/रे समाचार

काठमाडौं । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको वौडेश्वर मन्दिर परिसरमा मेला लागेको छ । टोखा नगरपालिका र वौडेश्वर संरक्षण समितिको आयोजनामा टोखा नगरपालिका वडा नं १ झोरस्थित बौडेश्वर मन्दिर तथा झरनामा शनिबार मेला लागेको हो ।    
    
शनिबार बिहानैदेखि लागेको वौडेश्वर मेलामा हजारौँ भक्तजनले मेला अवलोकन गरेको वडा नं १ का वडाध्यक्ष रमेश लामिछानेले जानकारी दिनुभयो । पछिल्लो समय टोखा नगरपालिका-१ वौडेश्वर झरना तथा मन्दिरमा आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।    
    
वौडेश्वर मन्दिर क्षेत्रको विकासका लागि टोखा नगरपालिकाले गुरुयोजना बनाएर काम गरिरहेको छ । वौडेश्वर संरक्षण समितिले वौडेश्वर मन्दिर तथा झरनामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि मन्दिरसम्म जाने सिँढी निर्माण गर्ने, भक्तजनलाई सहज दर्शनको व्यवस्थाको वातावरण बनाउनेलगायतको काम गरिरहेको छ ।    
    
टोखामा वौडेश्वरसहित सपनतीर्थ, चण्डेश्वरीलगायतका महत्त्वपूर्ण धार्मिक तथा ऐतिहासिक महत्त्वका मठमन्दिर रहेका छन् भने टोखा बजारमा नेवार समुदायले विभिन्न जात्रा मनाउँदै आएका छन् । टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखाको सांस्कृतिक संरक्षणका लागि हरेक आर्थिक वर्षमा बजेटसमेत विनियोजन गर्दै आइरहेको जानकारी दिनुभयो ।    

प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update