- प्रधान सेनापति सिग्देल चीनको औपचारिक भ्रमण सकेर स्वदेश फर्किनुभयो ।
- चिनियाँ रक्षा अधिकारीसँग भेटवार्ता र सैन्य संस्थाको निरीक्षण ।
- बेइजिङ सियाङसान फोरममा सहभागी हुनुभएको थियो ।
रे समाचार/काठमाडौँ । प्रधान सेनापति महारथी अशोकराज सिग्देल मित्रराष्ट्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसीलगायत नेपाली सेनाका उच्च अधिकारीहरूले स्वागत गर्नुभएको थियो ।
प्रधान सेनापति सिग्देलले भ्रमणका क्रममा चिनियाँ रक्षा मन्त्री तथा उच्च सैनिक अधिकारीहरूसँग शिष्टाचार भेट गर्नुभएको थियो । साथै, उहाँले राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (एनडीयू) लगायत चिनियाँ सैनिक तालिम तथा शिक्षण संस्था एवं एकाइहरूको निरीक्षण भ्रमण गर्नुभएको नेपाली सेनाले जनाएको छ ।
उहाँले चीनमा रहँदा बेइजिङमा आयोजित १३औँ बेइजिङ सियाङसान फोरममा समेत सहभागिता जनाउनुभएको थियो ।
प्रधान सेनापति सिग्देलको चीन भ्रमणले नेपाल र चीनबीच रहँदै आएको सौहार्दपूर्ण द्विपक्षीय एवं सैनिक सम्बन्धलाई अझ सुदृढ एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले विश्वास व्यक्त गरेको छ ।
