RayNewsDaily
कास्कीको पञ्चासेमा पछिल्लो २४ घण्टामा सर्वाधिक वर्षा
कास्कीको पञ्चासे क्षेत्रको मनोरम दृश्य ।
  • कास्कीको पञ्चासेमा १८९ मिलिमिटर वर्षा
  • बाँके र म्याग्दीका नदीमा सतर्कता तह पार
  • देशभर अधिकांश स्थानमा बादल, केही क्षेत्रमा वर्षा जारी

काठमाडौँ । पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९ मिलिमिटर वर्षा भएको छ ।

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका अनुसार पाल्पाको अर्चलेमा १७२ मिलिमिटर, गुल्मीको भार्सेमा १७० दशमलव आठ मिलिमिटर, म्याग्दीको कुहुनमा १६५ दशमलव दुई मिलिमिटर र दर्वाङमा १६१ मिलिमिटर वर्षा मापन भएको छ ।

हाल कैलालीको भजनी र धनगढी विमानस्थल, म्याग्दीको बेनी, पर्वतको कार्कीनेटा, पाल्पाको अर्चले र स्याङ्जाको पाँचमूलमा वर्षा भइरहेको मापन केन्द्रले जनाएका छन् ।

वर्षाका कारण बाँके, म्याग्दी, पर्वत, लमजुङ, चितवन र भोजपुरका विभिन्न नदीनालामा जलसतह सतर्कता तह नजिक पुगेको छ । बाढी मापन केन्द्रका अनुसार बाँकेको किरन नाला नदी र म्याग्दीको मङ्गलघाटमा नदीको जलसतहले सतर्कता तह पार गरेको छ ।

देशभर अधिकांश बादल

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

भारतको छत्तीसगढ तथा उत्तरपूर्वी मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणाली उत्तरपश्चिमतर्फ सर्दै भारतको दक्षिणपूर्वी उत्तर प्रदेशतर्फ जाने र आगामी १२ घण्टामा क्रमशः कमजोर हुँदै न्यून चापीय क्षेत्रमा परिणत हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज बिहानैदेखि काठमाडौँ उपत्यकामा वर्षा रोकिएको छ । हाल उपत्यकासहित देशभर अधिकांश स्थानमा बादल लागेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बागमती प्रदेशका केही स्थान र कोशी तथा मधेस प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मधेस प्रदेश तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका साथै बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका खोच तथा उपत्यकाका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

वर्षा तथा हावाहुरीका कारण कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात, उद्धार र राहतका काममा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । रासस

प्रकाशित मिति: शनिबार, असोज १०, २०८३  १४:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update