काठमाण्डू । चीनका राष्ट्रपति सी चिनफिङ तीनदिने राजकीय भ्रमणका क्रममा गएराती अमेरिका पुग्नु भएको छ । राजधानी वाशिङ्टन डिसी पुगेसँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उहाँलाई सामान्य प्रोटोकलभन्दा फरक ढंगले विमानस्थलमै पुगेर स्वागत गर्नुभएको छ ।

अमेरिकी इतिहासमै विदेशी राष्ट्रप्रमुखलाई सामान्यतया ह्वाइट हाउसमा स्वागत गर्ने परम्परा रहे पनि राष्ट्रपति ट्रम्प सीलाई स्वागत गर्न जोइन्ट बेस एन्ड्रयुजको धावनमार्गमै पुगेका पुग्नु भएको हो । राष्ट्रपति सी र उहाँकी पत्नी फेङ लियुआन विमानबाट ओर्लिँदा राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिया ट्रम्पले विमानको छेउमै पुगेर चिनियाँ विशिष्ट पाहुनाहरुसँग हात मिलाउनु भएको थियो । त्यसैगरी वालवालीकाहरुले पुष्प गुच्छा अर्पण गरेका थिए ।
राष्ट्रपति सी चढ्नु भएको विमानको भर्याङदेखिनै रातो कार्पेट बिछ्याइएको थियो । कार्पेटको दुवैतर्फ २१ जनाको गार्ड अफ अनर तैनाथ गरिएको थियो । स्वागत समारोहमा दुईवटा बी–१ बमवर्षक विमानको फ्लाईओभर, अमेरिकी सेनाका विभिन्न निकायका टोली तथा अमेरिका र चीनका राष्ट्रिय झण्डा र राष्ट्रिय गान प्रस्तुत गरिएको थियो ।

चिनियाँ राष्ट्रपतिलाई विमानस्थलमै पुगेर विश्वकै सबै भन्दा शक्तिसाली देशका राष्ट्रपति ट्रम्प र उहाँकी पत्नीले गर्नुभएको स्वागतलाई विश्व समुदायले महत्वका साथ हेरेको विज्ञहरुले बताएका छन् । उनीहरुले भनेका छन् अमेरिका चीनसँग मिलेर काम गर्न इच्छुक छ । उच्च गतिमा तरंगित भैरहेको विश्व राजनीतिमा चीनको उपस्थिती महत्वपूर्ण हुने कुरालाई बुझेर नै अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रपति सिलाई विमानस्थल पुगेर स्वागत गर्नुभएको कूटनीतिज्ञहरुको बुझाई छ । एकल ध्रुवीय विश्वबाट बहुध्रुवीय विश्वमा रुपान्तरणको चरण सुरु भएको संकेतका रुपमा पनि चीनका राष्ट्रपति सी चिनफिङको अमेरिका भ्रमणलाई चनाखोपूर्वक हेरिएको छ । बुधबार साँझ ह्वाइट हाउस फर्किएपछि राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग सीको स्वागतबारे प्रतिक्रिया दिँदै चिनियाँ पक्षले यसको कदर गर्ने र उहाँहरू महान् मानिसहरू भएको प्रतिक्रिया दिनुभएको छ ।

राष्ट्रपति सिको अमेरिका भ्रमणका क्रममा व्यापार, कृत्रिम बुद्धिमत्ता, इरान र ताइवान लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ । अमेरिका आगमनका अवसरमा जारी गरेको वक्तव्यमा राष्ट्रपति सिले चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार हुनुपर्ने बताउनु भएको छ । उहाँले चिनियाँ राष्ट्रको महान् पुनरुत्थान र अमेरिकालाई पुनः महान् बनाउने प्रयास सँगसँगै अघि बढ्न सक्ने र दुवै देशले एकअर्काको सफलतामा योगदान पुर्याउँदा विश्वलाई फाइदा हुने उल्लेख गर्नुभएको छ ।
राष्ट्रपति सीको भ्रमण अन्तर्गत आज बिहीबार ह्वाइट हाउसमा औपचारिक आगमन समारोह र राजकीय भोज आयोजना बताईएको छ । भोलि शुक्रबार राष्ट्रपति सी र उहाँकी पत्नीले ट्रम्प दम्पतीसँग अनौपचारिक चियापान गर्ने कार्यक्रम रहेको छ । त्यसपछि उहाँहरूले वाशिङ्टनस्थित राष्ट्रिय अभिलेखालयको भ्रमण गरी अमेरिका–चीन सम्बन्धसँग सम्बन्धित ऐतिहासिक दस्तावेज अवलोकन गर्ने कार्यक्रम रहेको छ ।

एघार वर्षपछि राष्ट्रपति सिले गरिरहनु भएको अमेरिकाको राजकीय भ्रमणमा दुई नेताबीच आपसी हितका विविध मामिलामा मात्र नभएर इरान अमेरिका द्वन्द्व, रुस युक्रेन युद्ध, इजरायल प्यालेष्टाईन समस्या लगायतका धेरै विषयहरुले प्रवेश पाउने सिन्ह्वा न्यूज एजेन्सीले बताएको छ ।
