-
अधिकांश निर्वाचन क्षेत्रमा आज कांग्रेसको क्षेत्रीय अधिवेशन ।
-
वर्षाका कारण केही क्षेत्रमा अधिवेशनको मिति परिवर्तन ।
-
क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुने ।
काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत आज अधिकांश सङ्घीय निर्वाचन क्षेत्र र प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन हुँदैछ ।
अत्यधिक वर्षाका कारण केही निर्वाचन क्षेत्रमा अधिवेशन सारिए पनि अधिकांश क्षेत्रमा पूर्वनिर्धारित तालिकाअनुसार आजै अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार विगत दुई दिनको अत्यधिक वर्षा तथा आज र भोलि पनि भारी वर्षा हुने पूर्वानुमानलाई ध्यानमा राख्दै असोज १३ गतेभित्र अनुकूलताअनुसार अधिवेशन सम्पन्न गर्न सकिने विकल्प दिइएको छ । सोहीअनुसार विशेषगरी पहाडी जिल्लाका अत्यधिक वर्षा भएका र सडक अवरुद्ध भएका केही निर्वाचन क्षेत्रमा आइतबार र सोमबार अधिवेशन गर्ने गरी कार्यतालिका संशोधन गरिएको समितिका सदस्य सचिव राजु कटुवालले जानकारी दिनुभयो ।
आजदेखि मौसममा सुधार देखिएकाले अधिकांश स्थानमा आजै र बाँकी क्षेत्रमा सोमबार तथा मङ्गलबारसम्म अधिवेशन सम्पन्न गर्ने गरी तालिका बनाइएको उहाँले बताउनुभयो । क्षेत्रीय अधिवेशनका लागि अहिलेसम्म कुनै समस्या नदेखिएकाले सहज रूपमा अधिवेशन सम्पन्न हुने वातावरण बनेको उहाँको भनाइ छ ।
सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशनबाट सङ्घीय निर्वाचन क्षेत्रीय कार्यसमिति, सङ्घीय महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चयन हुनेछन् ।
पालिका सभापति र प्रदेशसभा निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति सङ्घीय तथा प्रदेशसभा निर्वाचन क्षेत्रीय कार्यसमितिका पदेन सदस्य र स्वतः महाधिवेशन प्रतिनिधि हुने कांग्रेसको विधानमा व्यवस्था छ । पदेन सदस्यलाई मतदान गर्ने अधिकार भए पनि उम्मेदवार बन्ने अधिकार भने नहुने समितिका सदस्य सचिव कटुवालले बताउनुभयो ।
प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिमा सभापति र सचिव एक-एक जना निर्वाचित हुनेछन् भने सहसचिवमा एक महिलासहित दुई जना र कोषाध्यक्षमा सभापतिले मनोनयन गरेका एक जना रहने व्यवस्था छ । कार्यसमितिमा उपसभापतिको व्यवस्था गरिएको छैन । कार्यसमिति सदस्यमा १८ जना निर्वाचित हुने निर्वाचन निर्देशिकामा उल्लेख छ ।
क्षेत्रीय अधिवेशनबाट चयन हुने महाधिवेशन प्रतिनिधिमा चार महिला, १० खुला, एक महिलासहित तीन युवा र जनसङ्ख्याका आधारमा समानुपातिकतर्फ १० जना निर्वाचित हुनेछन् । साथै श्रमिक, पेसागत विज्ञ, अपाङ्गता भएका व्यक्ति, मुस्लिमसहित अल्पसङ्ख्यक, दलित तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक-एक जना चयन हुने व्यवस्था छ । यसरी हरेक सङ्घीय निर्वाचन क्षेत्रबाट ३३ जना सङ्घीय महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेछन् ।
सङ्घीय निर्वाचन क्षेत्रीय अधिवेशनले महासमिति सदस्यसमेत चयन गर्नेछ । हरेक निर्वाचन क्षेत्रबाट महिला दुई, खुला पाँच, ३५ वर्षमुनिका युवा एक र जनसङ्ख्याका आधारमा समानुपातिकतर्फ चार गरी १२ जना महासमिति सदस्य चयन हुनेछन् ।
प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनले ‘क’ र ‘ख’ दुवैतर्फ प्रदेशसभा क्षेत्रीय कार्यसमिति र प्रदेश अधिवेशनका लागि प्रदेश प्रतिनिधि चयन गर्नेछ । प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सभापति, उपसभापति र सचिव एक-एक जना तथा सहसचिवमा एक महिलासहित दुई जना निर्वाचित हुनेछन् । कोषाध्यक्ष भने कार्यसमिति सदस्यहरूमध्येबाट सभापतिको प्रस्तावमा एक जनालाई मनोनयन गर्ने व्यवस्था छ ।
प्रदेशसभा क्षेत्रीय कार्यसमिति सदस्यमा दुई महिला, एक दलित, एक युवा, तीन खुला र जनसङ्ख्याका आधारमा समानुपातिकतर्फ छ जना निर्वाचित हुनेछन् । थप सात जनालाई कार्यसमितिमा मनोनयन गर्न सकिनेछ ।
प्रदेश प्रतिनिधिका रूपमा दुई महिला, आठ खुला, एक महिलासहित दुई युवा र जनसङ्ख्याका आधारमा समानुपातिकतर्फ छ जना चयन हुनेछन् । साथै पेसागत विज्ञ, श्रमिक, अपाङ्गता भएका व्यक्ति, अल्पसङ्ख्यक, दलित तथा प्रजातन्त्र सेनानी, सहिद परिवार र द्वन्द्वपीडितमध्येबाट एक-एक जना प्रदेश प्रतिनिधि चयन गर्न सकिने व्यवस्था गरिएको छ ।
कांग्रेसको अधिवेशन शृङ्खला असोज ३ गते वडा अधिवेशनबाट सुरु भएको हो । वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन् । क्षेत्रीय अधिवेशन सकिएपछि केन्द्रीय महाधिवेशन हुनेछ । केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौँको खुलामञ्चमा गर्ने गरी तयारी भइरहेको कांग्रेसले जनाएको छ । रासस
