वासिङ्टन डीसी। चिनियाँ राष्ट्रपति सी चिनफिङले चीन र अमेरिकाबीच सञ्चार, सहकार्य र शान्तिपूर्ण सहअस्तित्वलाई सुदृढ गर्न आह्वान गर्नुभएको छ। उहाँले विश्व शान्ति र विकासका लागि दुई देशबीच स्थिर सम्बन्धको महत्त्वमा जोड दिनुभएको छ।
बिहीबार अमेरिकाको वासिङ्टन डीसीस्थित ह्वाइट हाउसमा आयोजित स्वागत समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले विश्वका प्रमुख शक्तिका रूपमा चीन र अमेरिकाले मानव विकास र प्रगतिलाई अघि बढाउने ऐतिहासिक जिम्मेवारी वहन गरेको बताउनुभयो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मिलेर रणनीतिक स्थिरतामा आधारित रचनात्मक चीन–अमेरिका सम्बन्ध निर्माण गर्न आफू तयार रहेको उहाँले बताउनुभयो। यस्तो सम्बन्ध पारस्परिक सम्मान, स्पष्ट संवाद र आपसी विश्वासमा आधारित हुनुपर्ने उहाँको भनाइ थियो।
राष्ट्रपति सीले व्यापार, लगानी, कृत्रिम बुद्धिमत्ता (एआई), लागुऔषध नियन्त्रण, कानुन कार्यान्वयन र जनस्तरको आदानप्रदानमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले दुई देशबीच प्रत्यक्ष हवाई उडान बढाउन तथा संकट व्यवस्थापन र द्वन्द्व रोकथामका लागि सैन्य संवाद सुदृढ गर्न पनि आह्वान गर्नुभयो।
“चीन र अमेरिका दुई ठूला देशका रूपमा सहकार्यबाट लाभान्वित हुनेछन् र टकरावबाट दुवै पक्षले नोक्सानी बेहोर्नुपर्नेछ,” राष्ट्रपति सीले भन्नुभयो। उहाँले प्रतिस्पर्धा स्वस्थ र निश्चित सीमाभित्र रहनुपर्ने धारणा व्यक्त गर्नुभयो।
दुई देशका जनताबीचको दीर्घकालीन मित्रताको चर्चा गर्दै राष्ट्रपति सीले आगामी पाँच वर्षमा एक लाख अमेरिकी युवालाई चीन भ्रमण, आदानप्रदान तथा अध्ययनका लागि आमन्त्रण गरिने घोषणा गर्नुभयो।
उहाँले पिङ पिङ र फु श्वाङ नामका दुई विशाल पाण्डा केही दिनभित्रै अमेरिकाको एटलान्टा चिडियाखानामा पुगेर अमेरिकी जनतासँग भेट गर्ने जानकारी पनि दिनुभयो।
अमेरिकी स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवका अवसरमा अमेरिकी जनतालाई बधाई दिँदै राष्ट्रपति सीले चिनियाँ राष्ट्रको महान् पुनर्जागरण र अमेरिकालाई पुनः महान् बनाउने लक्ष्य सँगसँगै अघि बढ्न सक्ने बताउनुभयो।
उहाँले दुवै देशका जनताबीचको मित्रतालाई निरन्तर सुदृढ गर्दै विश्वलाई अझ राम्रो बनाउन मिलेर काम गर्न आह्वान गर्नुभयो। पिपुल्स डेली
