RayNewsDaily
नेपालको लगातार तेस्रो जित, हङकङ ८ विकेटले पराजित

रे समाचार/काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा लगातार तेस्रो जित निकालेको छ । आज भएको आफ्नो तेस्रो खेलमा हङकङलाई ८ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको हो । समूह ए मा तेस्रो जितका साथ नेपालको सेमिफाइनल यात्रा अब औपचारिकता मात्रै बाँकी छ ।

११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा नै २ विकेट गुमाउँदै पूरा गरेको हो । ओपनर आसिफ शेखले १८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४० रन बनाउनुभयो । अर्का ओपनर कुशल भुर्तेलले १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन जोड्नुभयो । नेपाललाई ओपनर कुशल भुर्तेल र आसिफ शेखले ५.३ ओभरमा ७० रन जोड्दै शानदार सुरुवात दिलाउनुभएको थियो । रोहित पौडेल २० बलमा ३ चौकासहित २५ रनमा नटआउट रहनुभयो । सन्दीप जोराले १७ बलमा १ चौका र १ छक्कासहित १९ रन बनाउनुभयो । बलिङतर्फ हङकङका एहसान खान र यासिम मुर्तजाले १/१ विकेट लिनुभयो ।

त्यसअघि अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङ १७.५ ओभरमा ११४ रनमा अल आउट भएको थियो । कप्तान निजाकत खानले २६ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ३४ रन बनाउनुभयो । अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर मार्टिन कोट्जी ८, निजाकत खान १२, बाबर हायत ६, अजिज खान ७, यासिम मुर्तजा २ नसरुल्ला राणाले ६, जिशान अली १४ र एहसान खान ११ रनमा आउट हुनुभयो ।

नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिनुभयो । ललित राजवंशीले ४ ओभरमा १ मेडनसहित १४ रन खर्चेर २ विकेट लिनुभयो । दीपेन्द्रसिंह ऐरीले २ र करण केसीले १ विकेट लिनुभयो । नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।
 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update