RayNewsDaily
पाकिस्तानी एसीसी प्रमुख नकवीबाट एसिया कप ट्रफी लिन भारतको अस्वीकार
  • भारतद्वारा एसिया कपको ट्रफी लिन अस्वीकार।
  • नकवीबाट ट्रफी लिन भारतीय महिला टोलीको अस्वीकार ।
  • गत वर्षको पुरुष टोलीकै निर्णय दोहोरियो ।

नयाँदिल्ली । भारतीय महिला क्रिकेट टोलीले एसिया कपको उपाधि जिते पनि पाकिस्तान क्रिकेट बोर्डका अध्यक्ष तथा एसियाली क्रिकेट काउन्सिल (एसीसी) का प्रमुख मोहसिन नकवीबाट ट्रफी लिन अस्वीकार गरेको छ ।

भारतले आइतबार दुबईमा भएको टी-२० फाइनलमा श्रीलङ्कालाई ७२ रनले पराजित गर्दै उपाधि जितेको हो । तर, ट्रफी वितरण समारोहमा भारतीय टोली सहभागी भएन । भारतले गत वर्षको पुरुष टोलीले गरेको निर्णयलाई यसपटक महिला टोलीले पनि दोहोर्‍याएको हो ।

भारत र पाकिस्तानबीच लामो समयदेखि कायम राजनीतिक तनावको प्रभाव क्रिकेटमा समेत देखिँदै आएको छ । नकवी पाकिस्तानका गृहमन्त्रीसमेत हुनुहुन्छ । उहाँले नै एसीसी प्रमुखका रूपमा भारतीय टोलीलाई ट्रफी हस्तान्तरण गर्ने कार्यक्रम तय भएको थियो ।

भारतीय महिला टोलीका प्रशिक्षक अमोल मुजुमदारले ट्रफी नलिने निर्णय भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले गरेको बताउनुभयो । उहाँले पत्रकारहरूसँग कुरा गर्दै उक्त निर्णयको आफूहरू पक्षमा रहेको बताउनुभयो ।

“यो कदम बीसीसीआईले लिएको हो र हामी यसको पक्षमा छौँ । हामी च्याम्पियन हौँ, यो पर्याप्त छ”, उहाँले भन्नुभयो ।

आइतबारको ट्रफी वितरण समारोह करिब ५० मिनेट ढिलो सुरु भएको थियो । नकवीले उपविजेता श्रीलङ्काका खेलाडीलाई पदक वितरण गरेपछि समारोह अचानक समाप्त भएको थियो ।

भारतीय खेलाडीलाई पदक प्रदान गर्ने क्रममा बीसीसीआईका सचिव देवजित साइकिया र उपाध्यक्ष राजीव शुक्ला मैदानमा उपस्थित हुनुहुन्थ्यो ।

गत वर्षको पुरुष एसिया कपको फाइनलमा पाकिस्तानलाई पराजित गरेपछि भारतले पनि नकवीबाट ट्रफी लिन अस्वीकार गरेको थियो । यसपटक महिला टोलीले पनि त्यही निर्णय दोहोर्‍याएको हो ।

आणविक शक्ति सम्पन्न भारत र पाकिस्तानबीचको लामो समयदेखिको तनावका कारण दुई देशबीचको क्रिकेट सम्बन्धसमेत प्रभावित हुँदै आएको छ । एएफपी 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १४:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update