RayNewsDaily
अर्थमन्त्री डा. वाग्ले तीनदिने भारत भ्रमणमा, भारतीय समकक्षीसहितसँग भेटवार्ता
  • अर्थमन्त्री वाग्ले तीनदिने भारत भ्रमणमा प्रस्थान ।
  • भारतीय अर्थमन्त्री सीतारमण र विदेशमन्त्री जयशङ्करसँग भेटवार्ता ।
  • आर्थिक सहकार्य र विपद्पछिको पुनर्निर्माणमा छलफल हुने ।

काठमाडौँ ।अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान गर्नुभएको छ । भारत सरकारको निमन्त्रणामा उहाँ आज बिहान ७ः३५ बजेको उडानबाट काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माणलगायत नेपाल-भारतबीचको आर्थिक, राजनीतिक तथा कूटनीतिक सहकार्यका विभिन्न आयाममा छलफल हुने उहाँको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री डा वाग्लेले आज साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ । शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुहुने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उहाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।

त्यसैगरी, शुक्रबार साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । सोही दिन साँझ ७ः३० बजे भारत व्यापार प्रवर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्नुहुने बृहत् भेटघाट कार्यक्रममा उहाँ सहभागी हुनुहुनेछ ।

शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा उहाँ प्रमुख वक्ताका रूपमा सहभागी हुनुहुनेछ । सोही दिन बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा उहाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ ।

अर्थमन्त्री डा. वाग्ले शनिबार साँझ ४ बजे स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

भ्रमण टोलीमा अर्थमन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी हुनुहुन्छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज १, २०८३  १४:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update