एसियाली खेलकुदमा नेपालले आज जापानसँग भलिबल खेल्दै
- नेपाल र जापानबीच अपराह्न ४ बजे प्रतिस्पर्धा हुँदै ।
- जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने नेपालको लक्ष्य ।
- नेपाल समूह ‘ए’ मा, इन्डोनेसियासँग पनि खेल्ने ।
काठमाडौँ । बीसौँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज आयोजक जापानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपाल र जापानबीचको खेल अपराह्न ४ बजेदेखि कोमाकीस्थित पार्क एरिनामा सुरु हुनेछ ।
प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालले समूह चरणमा इन्डोनेसियाविरुद्ध पनि खेल्नेछ ।
भलिबलमा जापान तुलनात्मकरूपमा नेपालभन्दा बलियो टोली हो । एफआईभीबीको ताजा विश्व वरियतामा जापान छैटौँ र नेपाल ६९औँ स्थानमा छन् ।
नेपालले आजको खेलमा जापानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।
एसियाली खेलकुदमा नेपाली महिला भलिबल टोलीले लगातार दोस्रोपटक सहभागिता जनाउन लागेको हो ।
सन् २०२३ मा चीनको हाङ्झाउमा भएको १९औँ एसियाली खेलकुदमा नेपालले ११औँ स्थान हासिल गरेको थियो । रासस
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३ १०:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
