- अफ्रिकामा पहिलोपटक युथ ओलम्पिक आयोजना हुँदै ।
- डाकारमा ओलम्पिक ज्योतिको भव्य स्वागत ।
- २७ सय युवा खेलाडीले ३५ खेलमा प्रतिस्पर्धा गर्ने ।
डाकार । अफ्रिकामा पहिलोपटक आयोजना हुन लागेको युथ ओलम्पिक गेम्सको काउन्टडाउन सुरु भएसँगै सेनेगलको राजधानी डाकारमा ओलम्पिक ज्योतिको भव्य स्वागत गरिएको छ ।
डाकारस्थित ‘प्लेस डु सुभेनिर अफ्रिकन’मा सयौँ मानिसको सहभागितामा सङ्गीत र नृत्यसहित विशेष समारोह आयोजना गरिएको थियो । समारोहमा सेनेगलका सय प्रभावशाली महिलाले ओलम्पिक ज्योति बोकेर र्याली निकाले ।
उनीहरूलाई वोलोफ भाषामा रानी वा राजपरिवारका महिलालाई जनाउने शब्द ‘लिन्गीर’ भनिएको थियो ।
अक्टोबर ३१ देखि नोभेम्बर १३ सम्म हुने युथ ओलम्पिकमा करिब दुई हजार ७०० युवा खेलाडीले डाकार तथा नजिकका डियाम्नियाडियो र सालीमा ३५ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
सन् २०१० मा सिङ्गापुरबाट सुरु भएको युथ ओलम्पिक १५ देखि १८ वर्ष उमेर समूहका खेलाडीका लागि आयोजना हुने ओलम्पिकको युवा संस्करण हो । सेनेगलमा हुन लागेको प्रतियोगिताले अफ्रिकी युवाका लागि नयाँ अवसर र प्रेरणा दिने अपेक्षा गरिएको छ ।
‘लिन्गीर’मध्येकी गासिराह डियाग्नेले प्रतियोगिताले अफ्रिकाभरका युवालाई प्रेरित गर्ने बताउनुभयो । उहाँले भविष्यतर्फ अघि बढिरहेको अफ्रिकी महादेशलाई विश्वसामु चिनाउन सेनेगल एउटा प्रवेशद्वार बनेको बताउनुभयो ।
सेनेगलकी बास्केटबलकी दिग्गज खेलाडी मामे माटी मबेन्गुले समारोहमा ओलम्पिक कल्ड्रन प्रज्वलित गर्नुभयो । अन्तर्राष्ट्रिय ओलम्पिक समितिकी अध्यक्ष किस्र्टी कोभेन्ट्रीले यसलाई सेनेगल र समग्र अफ्रिकाका लागि गर्वको क्षण भएको बताउनुभएको छ ।
ग्रीसको राजधानी एथेन्सस्थित पानाथेनाइक रङ्गशालाबाट बिहीबार सेनेगललाई हस्तान्तरण गरिएको ओलम्पिक ज्योतिले सोमबारदेखि करिब तीन हजार ६०० किलोमिटर यात्रा गर्नेछ । ४०० भन्दा बढी मशाल-बाहकसँगै ज्योतिले सेनेगलका सबै १४ क्षेत्रको भ्रमण गर्नेछ र उद्घाटन समारोहका लागि डाकार फर्कनेछ । एपी
