RayNewsDaily
पूजा विधिदेखि पञ्चाङ्गसम्म एउटै एपमा, कर्मकाण्ड थप सहज
  • कर्मकाण्ड विधि मोबाइल एपमार्फत सहज बनाइएको ।
  • चार भाषामा पूजा विधि, पञ्चाङ्ग र सङ्कल्पको सुविधा ।
  • दुई वर्षको अध्ययनपछि एप तयार, निःशुल्क प्रयोग गर्न सकिने ।

पूर्णप्रसाद मिश्र/काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने नित्य, नैमित्तिक र काम्य कर्मका विधि समावेश गरिएको कर्मकाण्ड विधानलाई कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरी मोबाइल एपमार्फत सहज बनाइएको छ ।

धर्म तथा संस्कृतिको संरक्षण गर्दै आम मानिसलाई सेवा दिने उद्देश्यले वैदिक अनुसन्धान गुठी (वाग्) ले कर्मकाण्ड विधिलाई मोबाइल एप डाउनलोड गरेर कर्म गर्न तथा गराउन सकिने गरी सार्वजनिक गरेको हो ।

वाग्का अध्यक्ष युवा सन्त डा स्वामी केशवानन्द गिरिको नेतृत्वमा ४० जनाको टोलीले दुई वर्षसम्म गरेको अध्ययन तथा गृहकार्यपछि एप तयार गरिएको हो । धर्मरक्षा र वैदिक सनातन हिन्दू धर्मावलम्बीको सेवाका लागि दाताबाट प्राप्त करिब रु ७० लाखको लागतमा एप निर्माण गरिएको स्वामी गिरिले बताउनुभयो ।

उहाँका अनुसार विश्वमै पहिलोपटक मोबाइल एपमा यस प्रकारको सेवा उपलब्ध गराइएको हो । एपमार्फत कर्म गराउने गुरु, पुरोहित तथा कर्म गर्ने कर्ताले धर्मशास्त्रसम्बन्धी जिज्ञासा राख्न सक्ने व्यवस्था गरिएको छ ।

शुक्ल यजुर्वेद, माध्यन्दिनीय शाखासूत्रअनुसार कर्म निर्धारण गर्ने धर्मसिन्धु, निर्णयसिन्धु, याज्ञवल्क्य स्मृतिलगायत ग्रन्थमा भएका व्यवस्थाका आधारमा एपमा राखिएका जिज्ञासाको जवाफ इन्टरनेटमार्फत प्राप्त गर्न सकिने उहाँले बताउनुभयो ।

एपमा सूर्य सिद्धान्त र दृग् गणना दुवै आधारमा गणना गरिएको पात्रो राखिएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेखित मुहूर्त र साइतसमेत एपमा समावेश गरिएको छ । दैनिक, मासिक र वार्षिक राशिफल हेर्न सकिने सुविधा पनि एपमा राखिएको छ ।

प्रयोगकर्ताले राखेको वास्तविक समय र स्थानका आधारमा एआईले सङ्कल्प तयार गर्ने व्यवस्था गरिएको छ । गुरु, पुरोहितले एपमा तयार भएको सङ्कल्पको वाचन गरेर कर्म गराउन सक्नेछन् ।

सङ्कल्पका लागि आवश्यक वास्तविक समय र स्थानका आधारमा नेपालका करिब सात हजार नदी तथा नालाको नामसमेत एपमा समावेश गरिएको छ । नेपालका तीर्थस्थललाई पनि एपमा समावेश गर्ने काम अन्तिम चरणमा पुगेको स्वामी गिरिले बताउनुभयो ।

विश्वका प्रमुख नदीसमेत एपमा राखिएको छ भने अन्य नदी तथा नाला समावेश गर्ने काम भइरहेको उहाँले बताउनुभयो । विश्वको जुनसुकै स्थानबाट वास्तविक समय र स्थान राख्दा त्यसका आधारमा एआईले केही क्षणमै सङ्कल्प तयार गर्ने व्यवस्था गरिएको छ । यसबाट गुरु, पुरोहितको अभाव भएका स्थानमा पनि कर्म गराउन सहज हुने विश्वास गरिएको छ ।

चार भाषामा कर्मकाण्ड विधि

वेदका मूल मन्त्र संस्कृत भाषामै राखिएको छ भने कर्मकाण्डको विधि नेपाली, संस्कृत, अङ्ग्रेजी र हिन्दी गरी चार भाषामा उपलब्ध गराइएको छ ।

कुन कर्मका लागि कति पूजा सामग्री आवश्यक पर्छ, यजमानले के गर्नुपर्छ, कर्म गराउने ब्राह्मण र यजमानको कर्तव्य के हो तथा कुन कर्ममा के आवश्यक र के निषेध छ भन्ने जानकारी एपमा राखिएको छ । मात्रासहितको पूजा सामग्रीको विवरणसमेत एपबाट प्राप्त गर्न सकिन्छ ।

गुरु, पुरोहित र यजमान दुवैले प्रयोग गर्न मिल्ने गरी सफ्टवेयर विकास गरिएको हो । सुरु गरेको चार महिनाभित्र एपका सबै अङ्ग स्थापित गर्ने लक्ष्य राखिएको गुठीले जनाएको छ ।

एपमा चान्द्रमासअनुसार तिथि, गोत्र तथा प्रवरको सूची र कम्पाससमेत राखिएको छ । विभिन्न तिथि तथा मितिलाई एकअर्कामा परिवर्तन गर्ने सुविधा पनि उपलब्ध छ ।

मोबाइलमा एप डाउनलोड गरेर अफलाइनमा समेत कर्म गराउन सकिन्छ । तर अफलाइन अवस्थामा वास्तविक समय र स्थानका आधारमा तयार हुने सङ्कल्पको सुविधा भने उपलब्ध हुने छैन । एपमा कुण्डली निर्माण गर्ने वाग्को सफ्टवेयरसमेत राखिएको छ भने एआईबाट फलादेश लिन सकिने व्यवस्था गरिएको छ ।

स्वामी गिरिका अनुसार धर्मशास्त्र र ज्योतिषसमेत समेटिएको यो कर्मकाण्ड सफ्टवेयर नेपालमा मात्र नभई विश्वमै पहिलो हो । एआई मोडललाई ‘ट्रेन’ गर्न अमेरिकाबाट करिब रु १० लाख मूल्य पर्ने अत्याधुनिक कम्प्युटर नेपाल ल्याइएको उहाँले बताउनुभयो । यसका लागि वाग् अमेरिका शाखाका अध्यक्ष तुलसीराम सुवेदीले सहयोग गर्नुभएको छ ।

विवाह र व्रतबन्धका विधि पनि एपमा राख्न तयार भइसकेका छन् । विभिन्न देवीदेवताका स्तोत्रसमेत एपमा राख्ने तयारी भइरहेको छ । धर्मसेवालाई मुख्य उद्देश्य बनाएर एप हाल निःशुल्क प्रयोग गर्न सकिने गरी उपलब्ध गराइएको गुठीले जनाएको छ ।

शास्त्रीय ग्रन्थको अनुवाद पनि एपमा

रामायण, महाभारतलगायत पूर्वीय दर्शनका ग्रन्थलाई नेपालीमा अनुवाद गरी एपमा राख्ने कामसमेत भइरहेको छ । यसका लागि विद्वान्हरुले काम गरिरहेका छन् ।

स्वामी गिरिले तयार पार्नुभएको नेपाली, संस्कृत, अङ्ग्रेजी र हिन्दी भाषाको शब्दकोश पनि एपमा राखिनेछ । उहाँले एक दशकअघि नै उक्त शब्दकोश मोबाइल तथा कम्प्युटरमा प्रयोग गर्न सकिने गरी तयार गर्नुभएको थियो ।

नेपालभर रहेका धार्मिक तीर्थस्थल, गुरुकुल र गौशालाको जानकारीसमेत एपमा समावेश गर्ने तयारी भइरहेको छ । यी सामग्री एक वर्षभित्र एपमा राखिसक्ने गरी काम भइरहेको गुठीले जनाएको छ ।

मोबाइल एपमार्फत कर्म गराउँदा पुस्तक बोकेर हिँड्नुपर्ने बाध्यता हट्ने भए पनि पुस्तकमा जस्तो आस्थाको अनुभूति नहुन सक्ने स्वामी गिरिको भनाइ छ । एपको प्रयोगले पठनपाठनमा केही कमी आउन सक्ने भए पनि यसको फाइदा धेरै रहेको उहाँले बताउनुभयो ।

एपमा शुद्ध सङ्कल्प र कर्मका वाक्य उपलब्ध हुने भएकाले विश्वका जुनसुकै स्थानमा धार्मिक कृत्य गर्दा विधिमा एकरूपता र शुद्धता कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । पुस्तकका आधारमा कर्म गराउँदा स्थानअनुसार विधिमा केही फरक हुने गरेकोमा मोबाइलमा विधिका पुस्तक उपलब्ध हुँदा त्यसमा सहजता आउने जनाइएको छ ।

नयाँ पुस्तालाई धर्म तथा संस्कृतितर्फ आकर्षित गर्न पनि एपले सहयोग गर्ने विश्वास गरिएको छ । देशका विभिन्न भागमा कर्मकाण्ड गराउने गुरु, पुरोहितलाई प्रविधिबारे प्रशिक्षण दिने योजना पनि गुठीको छ ।

कर्मकाण्ड गराउन सक्ने गुरु, पुरोहितको परीक्षा लिएर उनीहरुको सूची एपमै राख्ने योजना रहेको स्वामी गिरिले बताउनुभयो । अनलाइनमार्फत परीक्षा लिएर योग्यताअनुसार गुरु, पुरोहितको सूची उपलब्ध गराइनेछ । यसका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग सहकार्य गर्न सकिने उहाँले बताउनुभयो ।

एपको यो सुरुवाती संस्करण भएकाले आगामी दिनमा सुधार गर्दै लैजाने स्वामी गिरिले बताउनुभयो । विदेशमा रहेका नेपालीलाई धर्म र आस्थासँग जोड्न पनि एपले सहयोग गर्ने उहाँको विश्वास छ ।

गौशाला, गुरुकुल तथा तीर्थस्थलको जानकारी एपमा राखेपछि कर्मबाट प्राप्त दक्षिणाको केही हिस्सा त्यस्ता संस्थालाई सहयोग गर्न सकिने व्यवस्था पनि विकास गरिएको छ । गुरु, पुरोहितले चाहेमा दक्षिणाको १० प्रतिशत रकम गौशाला, गुरुकुल वा नजिकको तीर्थस्थललाई अनलाइनमार्फत सहयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।

वैदिक सनातन धर्म र संस्कृतको अध्ययन अनुसन्धान

वैदिक सनातन धर्म र संस्कृत शिक्षाको अध्ययन, अनुसन्धान, संरक्षण, प्रवर्द्धन तथा प्रचारप्रसार गरी वैदिक वाङ्मय एवं संस्कृतभित्र निहित ज्ञानविज्ञानको महत्व दर्शाउने उद्देश्यले वाग्को स्थापना गरिएको हो ।

गुठीले शुक्लयजुर्वेद संहिता, अनुवाद चन्द्रिकाका चार भाग, रुद्राष्टाध्यायी, संस्कार शिक्षाका तीन भाग, दशशान्तिमन्त्र, छन्दःशिक्षा, श्रीमद्वाल्मीकी रामायणका दुई खण्ड, वैदिक पञ्चाङ्ग र वाग् नेपाली संस्कृत शब्दकोश प्रकाशन गरिसकेको छ ।

एप निर्माणमा सहयोग गर्नुभएका नेपाली मूलका भुटानी सुवेदी हाल अमेरिकाबाट वाग्को आश्रम गौरीघाट आएर वैदिक वाङ्मयको अध्ययनमा लाग्नुभएको छ । उहाँले एपले वैदिक ज्ञानलाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्न सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।

मोबाइल फोन, ट्याब्लेट र ल्यापटपजस्ता आधुनिक उपकरण प्रयोग गर्ने नयाँ पुस्तालाई एपमार्फत वैदिक वाङ्मयको अध्ययनमा आकर्षित गर्न सकिने उहाँको भनाइ छ । अडियो, भिडियो तथा पोडकास्टका माध्यमबाट वैदिक वाङ्मयबारे जानकारी दिन पनि एपले सहयोग गर्ने विश्वास गरिएको छ ।

अमेरिकामा समेत कर्मकाण्ड गराउँदै आउनुभएका सुवेदीका अनुसार बुबाको पुस्ताबाट आफ्नो पुस्तामा आउँदा त्यहाँ कर्मकाण्ड गराउने गुरु, पुरोहितको सङ्ख्यामा करिब ५० प्रतिशतले कमी आएको छ । भर्जिनिया, न्यूयोर्क र क्यालिफोर्नियाजस्ता स्थानमा नेपाली तथा हिन्दू धर्मावलम्बीको उल्लेख्य बसोबास रहेकाले त्यस्ता ठाउँमा एप उपयोगी हुने उहाँको विचार छ ।

कागेश्वरी मनोहरा नगरपालिका-६ मूलपानीका ४३ वर्षीय विदुर सापकोटा विगत दुई दशकदेखि गुरु, पुरोहितका रूपमा काम गर्दै आउनुभएको छ । उहाँले एपले किताब बोक्नुपर्ने झन्झट हटाउनुका साथै सङ्कल्प र कर्मका वाक्य शुद्ध रूपमा उपलब्ध हुने भएकाले कर्म गराउन सहयोग पुग्ने बताउनुभयो । रासस

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १४:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update