RayNewsDaily
भारत, चीनसहित १३ मुलुकका लागि राजदूत सिफारिस
  • भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि राजदूत सिफारिस
  • संसदीय सुनुवाइका लागि नाम सङ्घीय संसद्मा पठाइने
  • रुद्रसिंह तामाङ सचिवमा बढुवा, श्रेष्ठ विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक

काठमाडौँ । सरकारले छिमेकी दुई मुलुकसहित १३ देशका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि राजदूत नियुक्तिका लागि सिफारिस गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो ।

सरकारले निम्न मुलुकका लागि निम्न व्यक्तिलाई राजदूतमा सिफारिस गरेको छ :

१. भारत - डा. निश्चलनाथ पाण्डे
२. चीन - डा. कल्याणराज शर्मा
३. संयुक्त राज्य अमेरिका - चिरनजङ्ग थापा
४. बेलायत - गौरव शमशेर जङ्गबहादुर राणा
५. जर्मनी - शरू जोशी
६. इजरायल - सुरेशकुमार कर्ण
७. स्पेन - प्राप्ति शेरचन
८. जापान - जिज्ञानकुमार थापा
९. ओमान - डा. पद्माक्षी राणा
१०. मलेसिया - चूडामणि खरेल
११. गणतन्त्र कोरिया - प्राडा. सङ्गम श्रेष्ठ
१२. श्रीलङ्का - डा. मञ्चला झा
१३. साउदी अरेबिया - गिरीबहादुर सुनार

मन्त्री पोखरेलका अनुसार सिफारिस गरिएका नामहरू संसदीय सुनुवाइका लागि सङ्घीय संसद्मा पठाइनेछ ।

यसैगरी, मन्त्रिपरिषद् बैठकले सहसचिव रुद्रसिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय गरेको छ ।

बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा काठमाडौँका दीर्घायुकुमार श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

सरकारले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय पनि गरेको छ ।

यसअघि कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गर्ने निर्णय पनि बैठकले गरेको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १८:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update