RayNewsDaily
नेपालद्वारा आयरल्यान्डविरुद्धको शृंखला क्लिन स्वीप

रे समाचार/काठमाडौं । नेपालले आयरल्यान्ड वुल्भ्सविरुद्धको दुई खेलको टी-२० शृंखला क्लिन स्वीप गरेको छ। 

हिजो सम्पन्न पहिलो खेलमा नेपालले ६ विकेटको जित हासिल गरेकोमा आज सम्पन्न दोस्रो खेलमा पनि नेपालले आयरल्यान्डलाई ७१ रनले पराजित गर्दै शृंखला २-० ले क्लिन स्वीप गरेको हो । नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२७ रन मात्रै बनायो ।

आयरल्यान्डका स्टीफन डोहेनीले सर्वाधिक २६ रन बनाउनु भयो । उहाँले १३ बलमा ४ चौका र १ छक्का प्रहार गर्नुभयो । मोर्गन टपिङ २१, केड कार्माइकल १८,रोस अडायर १७, निल रक १७, फिओन ह्यान ५ रनमा आउट हुँदा ग्यारेथ डेलानी १५ रनमा आउट हुनुभयो । आयरल्यान्डका अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका कुशल मल्ल र सोमपाल कामीले ३/३ विकेट लिनुभयो । करण केसी, कुशल भुर्तेल र विवेककुमार यादवले १/१ विकेट लिनुभयो । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको हो । नेपालका कुशलले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन प्रहार गर्नुभयो ।

यता, गुल्शनकुमार झाले सर्वाधिक ४६ रनको योगदान दिनुभयो । ३२ बल खेल्नुभएका उहाँले १ चौका र ४ छक्का प्रहार गर्नुभयो । कप्तान रोहितकुमार पौडेल ३३, कुशल भुर्तेल २५, सन्दीप जोरा २१, अनिल साह १२ र आसिफ शेख ११ रनमा आउट हुँदा विवेककुमार यादव ७ रनमा अविजित रहनुभयो । आयरल्यान्डका म्याथ्यु फोस्टरले सर्वाधिक ३ विकेट लिनुभयो । बेन ह्वाइटको नाममा २ विकेट रहँदा फिओन ह्यान्ड र गेभिन होईको नाममा १/१ विकेट रह्यो । 

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update