- वार्नर, शाकिबसहित चर्चित विदेशी खेलाडी एनपिएलमा ।
- विदेशी स्टारबाट नेपाली खेलाडीलाई सिक्ने अवसर ।
- एनपिएलसँगै नेपाली क्रिकेट र पर्यटनमा अन्तर्राष्ट्रिय चासो बढ्ने अपेक्षा ।
लोकेश धामी/ काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करणले नेपाली क्रिकेटमा फ्रेन्चाइज क्रिकेटको आधार तयार गरे । अब तेस्रो संस्करणतर्फ अघि बढ्दै गर्दा अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित विदेशी स्टार खेलाडीको सहभागिता एनपिएलको महत्वपूर्ण पक्ष बनेको छ ।
विदेशी खेलाडी एनपिएलमा जोडिनु नौलो नभए पनि अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित र दर्शकमाझ परिचित खेलाडीको सङ्ख्या बढ्दै जाँदा लिगको दायरा पनि फराकिलो हुँदै गएको छ । चर्चित खेलाडीलाई भित्र्याउन एनपिएलका टोलीबीच समेत प्रतिस्पर्धा बढेको छ ।
अनुभवी विदेशी खेलाडीको आगमनले नेपाली खेलाडीलाई उनीहरूबाट सिक्ने अवसरसँगै एनपिएलको अन्तर्राष्ट्रिय बजार, दर्शकको आकर्षण र फ्रेन्चाइजको व्यावसायिक मूल्यमा समेत प्रभाव पार्ने नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले बताउनुभयो । उहाँका अनुसार चर्चित विदेशी खेलाडीको आगमनले एनपिएलसँगै नेपालको पर्यटनमा समेत सहयोग पुगिरहेको छ ।
‘‘विदेशी खेलाडी एनपिएलमा जोडिँदा क्रिकेट मात्र नभई नेपालको पर्यटनमा समेत ठूलो सहयोग पुगिरहेको छ । विगत संस्करणमा जोडिनुभएका स्टार खेलाडीका कारण क्रिकेटसँगै यहाँको पर्यटनको चर्चा पनि भएको थियो । धेरै विदेशी खेलाडीले नेपालको प्रसिद्ध ठाउँहरूको तस्बिर र भिडियो सामाजिक सञ्जालमा राख्नुभएको थियो । त्यसले नेपालको पर्यटनले अन्तर्राष्ट्रियस्तरमा चर्चा पाएको विश्वास छ’’, सचिव खड्काले रासससँग भन्नुभयो, ‘‘यसपालि पनि चर्चित विदेशी खेलाडी जोडिने क्रम जारी छ । उनीहरूको आगमनले लिगले उचाइ पाउनुका साथै नेपालको अर्थतन्त्रमा पनि सहयोग पुग्नेछ ।’’
चर्चित विदेशी खेलाडीसँग एउटै टोलीमा रहेर खेल्ने अवसरले नेपाली युवा खेलाडीलाई खेल कौशलसँगै मानसिक रूपमा पनि बलियो बनाउन सक्ने खड्काको बुझाइ छ । अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित खेलाडीको प्रशिक्षण शैली, अनुशासन, तयारी र मैदानमा दबाब सामना गर्ने तरिका नेपाली खेलाडीका लागि प्रत्यक्ष सिकाइको माध्यम बन्न सक्ने उहाँ बताउनुहुन्छ ।
आफूले लामो समयदेखि आदर्श मानेका खेलाडीसँग एउटै ‘ड्रेसिङ रुम’ मा बस्नु र मैदानमा सँगै उत्रिनु युवा खेलाडीका लागि महत्वपूर्ण अनुभव हुने उहाँको भनाइ छ । यस्ता अवसरले नयाँ खेलाडीको आत्मविश्वास बढाउनुका साथै आफूले खेल्दै आएको क्रिकेटलाई अझ फराकिलो दृष्टिले बुझ्न सहयोग पुग्ने उहाँ बताउनुहुन्छ ।
‘‘आफूले आदर्श मानेका खेलाडीसँगै ड्रेसिङ रुम सेयर गर्न पाउनु युवा खेलाडीका लागि ठूलो उपलब्धि हो । जसलाई सानैदेखि मैदानमा देखियो, उही खेलाडी आफ्नै मैदानमा खेलेको देख्दा युवा खेलाडीमा हौसला अवश्य नै बढ्छ’’, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहनुभएका खड्काले भन्नुभयो ।
विदेशी खेलाडीबाट प्राप्त हुने यस्तो अनुभव खेल सकिएसँगै समाप्त नहुने क्यानका म्यानेजर विनोद दास बताउनुहुन्छ । एउटै टोलीमा रहेर अभ्यास र खेल खेल्दा नेपाली खेलाडीले विदेशी खेलाडीको व्यावसायिकता, समय व्यवस्थापन, ‘फिटनेस’प्रतिको ध्यान तथा खेलअघि र खेलपछिको तयारीलाई नजिकबाट नियाल्न पाउने उहाँको भनाइ छ ।
अष्ट्रेलियाका विश्वकप विजेता खेलाडी डेविड वार्नरको आगमनले नेपाली युवा खेलाडीलाई थप सहयोग पुग्ने दास बताउनुहुन्छ । उहाँका अनुसार वार्नरको अनुभव र खेल्ने शैलीबाट नेपाली खेलाडीले प्रत्यक्ष रूपमा धेरै कुरा सिक्न पाउनेछन् । यसले एनपिएलको स्तर र अन्तर्राष्ट्रिय ध्यानसमेत बढाउन मद्दत गर्ने उहाँको भनाइ छ ।
‘‘विश्वस्तरीय खेलाडीलाई आफ्नै मैदानमा खेलेको हेर्न पाउनु नेपाली युवा खेलाडीका लागि ठूलो प्रेरणा हो । यसले उनीहरूलाई अझ मेहनत गर्न उत्साहित गर्नेछ’’, नेपालको यू-१९ टोलीका पूर्वप्रशिक्षकसमेत रहनुभएका दासले भन्नुभयो ।
लगातार स्टार खेलाडी जोडिँदा एनपिएलले अन्तर्राष्ट्रिय क्रिकेटमा थप चर्चा पाउने उहाँको विश्वास छ । वार्नरको उपस्थितिले एनपिएलप्रति दर्शक र क्रिकेट समर्थकको आकर्षण बढ्नुका साथै प्रतियोगिताको प्रतिस्पर्धात्मक वातावरण बलियो हुने उहाँ बताउनुहुन्छ ।
काठमाडौँ गोर्खाजमा वार्नरको अनुबन्धले अन्य चर्चित विदेशी खेलाडीलाई समेत एनपिएलमा सहभागी हुन आकर्षित गर्ने वातावरण बन्ने दासको भनाइ छ । विश्व क्रिकेटमा स्थापित खेलाडी नेपाल आएर एनपिएल खेल्दा विदेशी खेलाडीमा समेत लिगप्रति विश्वास र आकर्षण बढ्न सक्ने उहाँ बताउनुहुन्छ ।
एनपिएलमा विदेशी खेलाडीको सहभागिताले नेपाली क्रिकेटलाई नयाँ अनुभव र अवसर थपिरहेको राष्ट्रिय टी-२० टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी बताउनुहुन्छ । अन्तर्राष्ट्रियस्तरमा खेलिसकेका स्टारसँग एउटै प्रतियोगितामा प्रतिस्पर्धा गर्दा नेपाली खेलाडीले उनीहरूको खेल्ने शैली, तयारी र अनुभवबाट सिक्ने अवसर पाउने उहाँको भनाइ छ ।
विदेशी खेलाडीको उपस्थितिले नेपाली खेलाडीलाई उच्चस्तरको क्रिकेटमा आफूलाई परीक्षण गर्ने वातावरणसमेत तयार हुने ऐरी बताउनुहुन्छ । ‘‘विदेशी खेलाडी आउँदा नेपाली क्रिकेटलाई एकदमै राम्रो भइरहेको छ । उहाँहरू आउँदा नेपाली क्रिकेटको स्तर बढिरहेको छ । विदेशी खेलाडीहरूसँग खेल्दा नेपाली खेलाडीले धेरै कुरा सिक्ने अवसर पाउँछन् र त्यसले नेपाली क्रिकेटलाई अगाडि बढाउन सहयोग गर्छ’’, एनपिएल टोली सुदूरपश्चिम रोयल्सका कप्तानसमेत रहनुभएका ऐरीले भन्नुभयो ।
एनपिएल-३ मा खेल्ने पाँच चर्चित विदेशी खेलाडी
डेविड वार्नर (अष्ट्रेलिया)
अष्ट्रेलियाका आक्रामक ब्याटर डेविड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटमा लामो समय प्रभाव जमाउनुभएको छ । अष्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप जित्दा उहाँ टोलीका महत्वपूर्ण सदस्य हुनुहुन्थ्यो ।
टेष्ट, एकदिवसीय र टी-२० तीनै स्वरूपमा खेलिसक्नुभएका वार्नरले इन्डियन प्रिमियर लिग (आइपिएल), पाकिस्तान सुपर लिग (पिएसएल), बिग बास लिग (बिबिएल), क्यारेबियन प्रिमियर लिग (सिपिएल) र बङ्गलादेश प्रिमियर लिग (बिपिएल) लगायत विभिन्न फ्रेन्चाइज लिग खेलिसक्नुभएको छ ।
वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १८ हजार ९९५ रन बनाउनुभएको छ । ३९ वर्षीय वार्नरको अनुभव र आक्रामक ब्याटिङ एनपिएलका लागि आकर्षणको विषय बनेको छ ।
शाकिब अल हसन (बङ्गलादेश)
बङ्गलादेशका पूर्वकप्तान शाकिब अल हसन एनपिएल-३ मा पोखरा एभेन्जर्सबाट खेल्ने तयारीमा हुनुहुन्छ । बायाँहाते ब्याटिङ र बायाँहाते स्पिन बलिङ गर्ने शाकिबले लामो समय बङ्गलादेशको राष्ट्रिय टोलीको नेतृत्वसमेत गर्नुभएको छ ।
उहाँले बङ्गलादेशका लागि कुल १४ हजार ७३० रन बनाउनुभएको छ । विभिन्न विदेशी फ्रेन्चाइज लिगको अनुभव हासिल गर्नुभएका शाकिबको उपस्थितिले पोखरा एभेन्जर्सलाई अनुभव थप्ने अपेक्षा गरिएको छ ।
जिमी निसम (न्युजिल्याण्ड)
न्युजिल्याण्डका अलराउन्डर जिमी निसम एनपिएलमा लगातार तेस्रोपटक खेल्ने तयारीमा हुनुहुन्छ । अघिल्ला दुई संस्करणमा फरक-फरक टोलीबाट खेल्नुभएका निसम यसपटक पुनः जनकपुर बोल्ट्समा फर्किनुभएको छ । पहिलो सिजनमा जनकपुरलाई उपाधि दिलाउन उहाँले महत्वपूर्ण योगदान दिनुभएको थियो ।
ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने निसमले विश्वका विभिन्न टी-२० फ्रेन्चाइज प्रतियोगिता खेलिसक्नुभएको छ । ३६ वर्षीय निसमले अन्तर्राष्ट्रिय क्रिकेटमा तीन हजार ३०९ रन बनाउनुका साथै १४९ विकेट लिनुभएको छ ।
रवि बोपारा (इङ्ल्याण्ड)
इङ्ल्याण्डका अनुभवी अलराउन्डर रवि बोपारा एनपिएलमा लगातार तेस्रोपटक चितवन राइनोजबाट खेल्दै हुनुहुन्छ । अन्तर्राष्ट्रिय क्रिकेटसँगै विभिन्न टी-२० फ्रेन्चाइज प्रतियोगिताको अनुभव बोकेका बोपारा ब्याटिङ र मध्यम गतिका बलिङबाट योगदान दिन सक्ने खेलाडी हुनुहुन्छ ।
४१ वर्षीय बोपाराले इङ्ल्याण्डका लागि तीन हजार ९८१ रन बनाउनुका साथै ५७ विकेट लिनुभएको छ । उहाँले झण्डै एक दर्जन विदेशी लिग खेल्नुभएको छ ।
सिकन्दर राजा (जिम्बाब्वे)
जिम्बाब्वेका कप्तान सिकन्दर राजा एनपिएलको तेस्रो संस्करणमा जोडिने अर्का चर्चित खेलाडी हुनुहुन्छ । अन्तर्राष्ट्रिय टी-२० क्रिकेटका प्रमुख अलराउन्डरका रूपमा परिचित राजाले आक्रामक ब्याटिङसँगै अफस्पिन बलिङ गर्दै आउनुभएको छ ।
उहाँले विभिन्न अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज प्रतियोगितामा खेलिसक्नुभएको छ । राजाले अन्तर्राष्ट्रिय क्रिकेटमा नौ हजार ३८२ रन बनाउनुका साथै २५२ विकेट लिनुभएको छ । उहाँको अलराउन्ड क्षमताले चितवन राइनोजलाई ब्याटिङ र बलिङ दुवैमा विकल्प थप्ने अपेक्षा गरिएको छ ।
वार्नर, शाकिब, निसम, बोपारा र राजाजस्ता अनुभवी खेलाडीको उपस्थितिले नेपाली खेलाडीलाई विश्वस्तरीय क्रिकेटरको अभ्यास, तयारी र खेल्ने शैलीलाई नजिकबाट बुझ्ने अवसर दिने एनपिएल टोलीको बुझाइ छ ।
एनपिएल टोली विराटनगर किंग्सका निर्देशक दीपेन्द्र चौधरीले चर्चित विदेशी खेलाडीको सहभागिताले नेपाली क्रिकेटमा सिकाइ र अवसरको अर्को ढोका खोल्ने बताउनुहुन्छ । उहाँले विदेशी खेलाडीबाट प्राप्त हुने अनुभवलाई प्रतियोगिता अवधिमा मात्र सीमित नराखी प्रशिक्षण, घरेलु प्रतियोगिता र राष्ट्रिय टोलीसम्म जोड्न सके त्यसको प्रभाव दीर्घकालीन हुने बताउनुभयो ।
एनपिएलको तेस्रो सिजन कात्तिक ९ गतेदेखि काठमाडौँमा आयोजना हुँदैछ । क्यानले लिगको तालिका सार्वजनिक गरिसकेको छ । प्रतियोगिताको उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुने तालिका छ । रासस
