RayNewsDaily
चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा, पाँच प्रदेशमा अतिभारी वर्षाको जोखिम
बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभावले नेपालका विभिन्न क्षेत्रमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना ।
  • बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना ।
  • कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनीमा भारीदेखि अतिभारी वर्षाको पूर्वानुमान ।
  • किसान, पर्यटक र पर्वतारोहीलाई सतर्कता अपनाउन आग्रह ।

काठमाडौँ । बङ्गालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा हुने भएको छ । मौसम पूर्वानुमानअनुसार देशका केही स्थानमा भारीदेखि अतिभारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभाव नेपालमा देखिन थालिसकेको छ । हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको र बिहान लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षासमेत भएको उहाँले जानकारी दिनुभयो ।

चक्रवात भारतको आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको छ । उक्त प्रणाली क्रमशः उत्तरपश्चिमतर्फ सर्दै आगामी दिनमा कमजोर अवस्थामा उत्तर प्रदेश र बिहार आसपास पुग्ने पूर्वानुमान रहेको मौसमविद् महर्जनले बताउनुभयो ।

mausam33-1793198540.jpeg
mau-1793198607.jpeg
उहाँका अनुसार चक्रवातको प्रभावले शनिबारसम्म कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा पनि मध्यम वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ ।

यसैगरी, कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी तथा एक-दुई स्थानमा अतिभारी वर्षा हुनसक्ने महर्जनले बताउनुभयो । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा हुने सम्भावना रहेको छ ।

सम्भावित वर्षाका कारण कृषि कार्य, पर्वतारोहण, पदयात्रा तथा पर्यटन गतिविधिमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् महर्जनले आग्रह गर्नुभएको छ । विशेषगरी धानबाली भित्र्याउने किसानलाई मौसमको पूर्वानुमान हेरेर काम गर्न तथा उच्च पहाडी र हिमाली क्षेत्रमा यात्रा गर्ने पर्यटकलाई मौसम अनुकूल नभएसम्म सुरक्षित स्थानमा रहन उहाँले सुझाव दिनुभयो ।

वर्षाका कारण बाढी, पहिरो, सडक अवरोध तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सर्वसाधारण र सम्बन्धित निकायलाई आवश्यक पूर्वतयारी गर्नसमेत आग्रह गरिएको छ । रासस

प्रकाशित मिति: बुधबार, कात्तिक ११, २०८३  १९:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update