- बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउन मन्त्री डा तिमिल्सिनाको जोड ।
- नीतिगत सुधार, उत्तरदायित्व र अनुशासन कायम गर्दै ठोस काम गर्न आग्रह ।
- मन्त्रिपरिषद्बाट मनिष पण्डित चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त ।
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गर्नुभएको छ ।
बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आज मन्त्रालयमा नियुक्तिपत्र हस्तान्तरण गर्दै उहाँले चलचित्रकर्मीले बोर्ड सबैको साझा हुन नसकेको गुनासो गरिरहेको उल्लेख गर्नुभयो । उहाँले चलचित्र क्षेत्रले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेको बताउनुभयो ।
“चलचित्र सरकारले बनाउने होइन, सरकारले चलचित्र बनाउनका लागि एकदमै ठूलो भूमिका खेल्ने पनि होइन”, मन्त्री डा. तिमिल्सिनाले भन्नुभयो, “सरकारले सही वातावरण दिने, सही नीति दिने र प्रोत्साहन गर्ने हो । बोर्डले सरकार र चलचित्रकर्मीबीच रहेर चलचित्र क्षेत्रको विकासका लागि ठोस रूपमा काम गर्नुपर्छ ।”
उहाँले बोर्ड कुनै निश्चित वर्ग वा सीमित दायराका व्यक्तिका लागि मात्रै हो भन्ने बुझाइ हटाएर सम्पूर्ण चलचित्रकर्मीको साझा संस्था बनाउनुपर्नेमा जोड दिनुभयो ।
“जब त्यो अपनत्व स्थापित हुन्छ, काम गर्न पनि सहज हुन्छ र चलचित्र क्षेत्रबाटै तपाईंलाई प्राप्त हुने सहयोगमा पनि बढोत्तरी हुन्छ”, उहाँले भन्नुभयो ।
मन्त्री डा तिमिल्सिनाले चलचित्र क्षेत्र अवसर र चुनौती दुवै भएको बताउँदै पहिलो चरणमा संस्थालाई जोगाउने, संस्थाभित्र उत्तरदायित्व कायम गर्ने र विगतमा उठेका प्रश्न फेरि नउठ्ने गरी काम गर्न आग्रह गर्नुभयो । उहाँले बोर्डमा अनुशासन कायम गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
चलचित्र क्षेत्रको विकासका लागि बजेट र आर्थिक सहयोगसँगै नीतिगत सुधार तथा कार्यान्वयनमा देखिएका साना-साना कमजोरीसमेत हटाउन आवश्यक रहेको उहाँले बताउनुभयो ।
“पैसा मात्रै सबै कुरा होइन, सरकारले नीति र वातावरणमा काम गर्नुपर्छ”, उहाँले भन्नुभयो, “चलचित्र क्षेत्रको विकासमा योगदान पुर्याउने ठोस काम बोर्डबाट हुने अपेक्षा सरकारले गरेको छ ।”
मन्त्री डा तिमिल्सिनाले नवनियुक्त अध्यक्ष पण्डितका लागि वास्तविक परीक्षा अब सुरु भएको उल्लेख गर्दै उहाँको कार्यकाल बोर्डको इतिहासमा उदाहरणीय बन्ने गरी काम गर्न शुभकामना दिनुभयो ।
विगतमा बोर्डले लिन नसकेको बाटो पहिल्याउँदै व्यापक परामर्श र संवादका माध्यमबाट अघि बढ्न सके चलचित्र क्षेत्रले प्रभावकारी उपलब्धि हासिल गर्न सक्ने उहाँको भनाइ थियो ।
सो अवसरमा मन्त्रालयका सहसचिव एवं बोर्डको अध्यक्ष सिफारिस समितिका सदस्य रविलाल शर्माले अध्यक्ष छनोट प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । उहाँका अनुसार बोर्डको अध्यक्ष पदका लागि १२ जनाको आवेदन परेको थियो । विभिन्न चरणको छनोट, प्रस्तुतीकरण र अन्तर्वार्तापछि उत्कृष्ट तीन जनाको नाम मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो ।
तीन जनामध्येबाट नेपाल सरकार, मन्त्रिपरिषद्को गत असोज ३० गतेको निर्णयअनुसार पण्डितलाई बोर्डको अध्यक्षमा मनोनयन गरिएको हो । रासस
