- सैनिक हवाई सेवाको दुई लाखभन्दा बढी उडान घण्टा पूरा ।
- प्रधान सेनापति अशोक राज सिग्देलद्वारा शिलालेख अनावरण ।
- ‘सैनिक हवाई सेवा विगतदेखि वर्तमानसम्म’ पुस्तक विमोचन ।
रे समाचार/काठमाडौँ । नेपाली सेनाको सैनिक हवाई सेवाले दुई लाखभन्दा बढी उडान घण्टा पूरा गरेको छ ।
यस अवसरमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलले मङ्गलबार गौचर ब्यारेकमा निर्माण गरिएको शिलालेख अनावरण गर्नुभएको छ । सोही समारोहमा ‘सैनिक हवाई सेवा विगतदेखि वर्तमानसम्म’ नामक पुस्तकसमेत विमोचन गरिएको नेपाली सेनाले जनाएको छ ।

वि.सं. २०२२ सालमा स्थापना भएको सैनिक हवाई सेवाले विपद् व्यवस्थापन तथा विभिन्न उद्धार कार्यमा हवाई साधनमार्फत सेवा प्रदान गर्दै आएको छ । कठिन परिस्थितिमा समेत यस सेवाले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको सेनाले जनाएको छ ।
कार्यक्रममा बलाधिकृत, रथीवृन्द, नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी तथा सैनिक हवाई सेवामा कार्यरत र अवकाश प्राप्त रथीवृन्द एवं अधिकृतहरूको उपस्थिति रहेको थियो ।
