- कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा र हिमपातको जोखिम ।
- हिमआँधी र हिमपहिरोको सम्भावना, पर्वतारोही तथा पदयात्रीलाई सतर्क रहन आग्रह ।
- खुम्बु, मनाङसहितका क्षेत्रमा उच्च हिमाली स्वास्थ्य समस्याको उपचार सेवा सहज बनाउन अपिल ।
काठमाडौँ । पर्यटन विभागले भारी वर्षा, हिमपात र हिमपहिरोको जोखिम रहेको भन्दै उच्च हिमाली क्षेत्रमा नजान पर्यटक तथा पर्वतारोहीलाई आग्रह गरेको छ ।
विभागका अनुसार कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी वर्षा तथा हिमाली क्षेत्रमा हिमपात र हिमपहिरोको जोखिम रहेको छ ।
नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हुरीबताससहित भारी वर्षा हुनसक्ने सम्भावना छ । वर्षाका कारण बाढीपहिरो तथा भूक्षयको जोखिम बढ्नुका साथै हिमाली क्षेत्रमा हिमआँधी र हिमपहिरो जान सक्ने पूर्वानुमान गरिएको छ ।
प्रतिकूल मौसमले पदयात्रा तथा हिमाल आरोहण प्रभावित हुनसक्ने भएकाले उच्च हिमाली क्षेत्रमा नजान र त्यहाँ पुगिसकेका पर्वतारोही तथा पदयात्रीलाई सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । साथै, आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी अद्यावधिक सूचनाका आधारमा यात्रा योजना बनाउन आग्रह गरिएको छ ।
यसैगरी, खुम्बु, मनाङलगायतका हिमाली क्षेत्र तथा काठमाडौँ र पोखरास्थित स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने स्वास्थ्य समस्या (एक्युट माउन्टेन सिकनेस) को उपचार सेवा सहज र निरन्तर उपलब्ध गराउन विभागले सम्बन्धित निकायलाई अपिल गरेको छ । रासस
