RayNewsDaily
चीन र  रुसद्वारा बाह्य हस्तक्षेपको विरोध, एकअर्काको सार्वभौमसत्ता र सुरक्षामा समर्थन
चिनियाँ प्रधानमन्त्री ली छ्याङ र रुसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन रुसको सेन्ट पिटर्सबर्गमा भेटवार्ताका क्रममा ।
  • युरेसियामा स्थिरता कमजोर पार्ने बाह्य हस्तक्षेपको विरोध ।
  • एकअर्काको राष्ट्रिय सुरक्षा र क्षेत्रीय अखण्डताको समर्थन गर्ने प्रतिबद्धता ।
  • चीन, रुस र अमेरिकाका नेताबीच सम्भावित बैठकबारे संयुक्त वक्तव्य मौन ।

बेइजिङ । चीन र रुसले युरेसिया महाद्वीपमा स्थिरता कमजोर पार्ने बाह्य हस्तक्षेपको विरोध गर्दै एकअर्काको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

रुसको भ्रमणमा रहनुभएका चिनियाँ प्रधानमन्त्री ली छ्याङले बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र प्रधानमन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरेपछि दुवै देशले संयुक्त वक्तव्य जारी गरेका हुन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले प्रकाशित गरेको वक्तव्यमा दुवै पक्षले विनाशकारी बाह्य हस्तक्षेपलाई युरेसिया महाद्वीपमा स्थिरता कमजोर पार्ने प्रमुख कारकका रूपमा औँल्याएका छन् ।

वक्तव्यमा युरेसियाली एकताको प्रक्रियामा अवरोध पुर्‍याउने उद्देश्यले बल प्रयोग गर्ने वा बाह्य दबाब सिर्जना गर्ने कुनै पनि कार्यको दुवै देशले कडा निन्दा गर्ने उल्लेख छ । साथै, एकअर्काका मुख्य हित र प्रमुख सरोकारसँग सम्बन्धित विषयमा सधैँ दृढ समर्थन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

चीनले रुसको सुरक्षा, स्थिरता, राष्ट्रिय एकता, विकास, समृद्धि, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्ने प्रयासलाई समर्थन गर्ने जनाएको छ । रुसको आन्तरिक मामिलामा बाह्य शक्तिले हस्तक्षेप गरेकोप्रति पनि चीनले विरोध जनाएको छ ।

यसैबीच, वक्तव्यमा रुसी राष्ट्रपति पुटिन, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच हुन सक्ने प्रस्तावित बैठकबारे कुनै उल्लेख गरिएको छैन ।

क्रेमलिनका सहयोगी युरी उशाकोभले बुधबार पत्रकारहरूसँग चीन, रुस र अमेरिकाका नेताबीच सम्भावित पहिलो बैठकको तयारी भइरहेको बताउनुभएको थियो । उहाँका अनुसार आगामी महिना चीनको सेन्जेनमा हुने एसिया–प्रशान्त शिखर सम्मेलनका अवसरमा उक्त बैठक आयोजना गर्ने उद्देश्य राखिएको छ । एएफपी

प्रकाशित मिति: बिहीबार, कात्तिक ५, २०८३  १०:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update