RayNewsDaily
भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या   

म्याग्दी । बेनी नगरपालिका–२ स्थित भसभसेको पहिरो म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकको मुख्य चुनौती बनेको छ ।    
     
 यही असोज ८ देखि ११ गतेसम्मको झरीका कारण म्याग्दी र कालीगण्डकी नदीको दोभान नजिकै रहेको भसभसेमा बाढीको कटानले सडक भासिएको र बगेका कारण यातायातका साधन सञ्चालनमा समस्या हुनाका साथै दुर्घटनाको जोखिम बढेको छ ।    
पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको सडक पुलको पहुँचमार्ग कालीगण्डकीले बगाएपछि मध्य पहाडी लोकमार्ग भएर बागलुङ, रुकुम पुर्व–पश्चिम, जाजरकोटका पोखरा–काठमाडौँ जाने–आउने सवारीसाधनहरुले पनि बागलुङ–बेनी–मालढुङ्गाको वैकल्पिक सडक प्रयोग गरिरहेका छन् ।    
    
 बेनी –२ खबराका कमल सुवेदीले सडक दवेको ठाउँमा हिलोमा गाडी फस्ने, उकालो उक्लने नसक्ने, सवारीसाधनको जाम हुने, साँघुरो भएकाले दुर्घटनाको पनि जोखिम भएको बताउनुभयो ।    
    
 “नदी कटान र पहिरोका कारण एक सय मिटर दूरीमा सडक साविकको भन्दा दुईदेखि तीन मिटर भासिएको र दबेको छ,” उहाँले भन्नुभयो, “सवारीसाधनको चाप बढेको हुँदा घण्टौँ जाम हुने गरेको छ ।”    
    
 आर्थिक वर्ष २०८१/८२ मा सडक डिभिजन कार्यालय बागलुङले भसभसे पहिरोको भूमिगत पानी व्यवस्थापन र हिलोमा ढलान गरेको थियो । हाल ढलान गरेको सडक सबै भासिएको छ । जिल्ला समन्वय समिति, म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले भसभसेमा यातायात व्यवस्थापनका लागि सडक डिभिजन कार्यालयले मर्मत र उपकरण परिचालन गरे पनि प्रतिकूल भूगोलका कारण समाधान हुन नसकेको बताउनुभयो ।    
    
 “सडक डिभिजनले ग्राभेल राखे पनि दबेर भोलिपल्ट पहिलेको जस्तो अवस्था हुन्छ,” उहाँले भन्नुभयो “सडक भासिने र दब्ने क्रम नरोकिएकाले फसेका गाडीलाई डोजरको सहयोगले तार्ने गरिएको छ ।” भसभसे पहिरोका कारण खबरा गाउँ पनि जोखिममा परेको छ ।    
    
 कालीगण्डकी र म्याग्दी नदीको दोभानमा पक्की पर्खाल गरेर तटबन्धका साथै पहिरोग्रस्त ठाउँमा ग्रेड मिलाउने र पक्की बनाउन सडक डिभिजन कार्यालयमार्फत पहल गरिएको कार्यवाहक जिसस प्रमुख खत्रीले बताउनुभयो । रासस   

  

प्रकाशित मिति: सोमबार, असोज २६, २०८३  ०८:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update