RayNewsDaily
एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा
  • महिला कबड्डीमा नेपाल सेमिफाइनलमा प्रवेश ।
  • श्रीलङ्कालाई ३४-२५ ले हराउँदै पदक पक्का ।
  • पुरुष कबड्डीमा मलेसियामाथि ७३-५२ को जित ।

काठमाडौँ । जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपालले श्रीलङ्कालाई ३४-२५ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । यससँगै नेपाली महिला टोलीको पदक निश्चित भएको छ ।

जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले पहिलो हाफमा १९-१३ को अग्रता बनाएको थियो । दोस्रो हाफमा १५-१२ को अग्रता कायम गर्दै नेपालले समग्रमा ३४-२५ को जित निकालेको हो ।

समूह ‘बी’ मा रहेको नेपालले यसअघि थाइल्यान्डलाई हराएको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । समूह ‘बी’ बाट नेपालसँगै चाइनिज ताइपेइ पनि सेमिफाइनलमा पुगेको छ ।

यसअघि चीनको हाङजाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली महिला कबड्डी टोलीले कास्य पदक जितेको थियो ।

यसैगरी, पुरुष कबड्डीमा पनि नेपालले मलेसियामाथि ७३-५२ को जित हासिल गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले पहिलो हाफमा ३७-२१ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा ३६-३१ ले अगाडि रहँदै २१ अङ्कको जित निकालेको हो ।

लगातार तीन खेलमा पराजित हुँदै यसअघि नै प्रतियोगिताबाट बाहिरिएको नेपाली पुरुष टोलीका लागि मलेसियामाथिको जित सान्त्वना बनेको छ ।रासस

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १६:००
प्रतिक्रिया दिनुहोस्
Weather Update