RayNewsDaily
२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी
  • नेपालले थाइल्यान्डलाई ४६-४३ अङ्कले हरायो 
  • पहिलो हाफमा १५-२४ ले पछि परेको नेपाल दोस्रो हाफमा फर्कियो 
  • बुधबार चाइनिज ताइपेइसँग समूह चरणको दोस्रो खेल 

काठमाडौँ । जापानको इची-नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डीमा नेपाल विजयी भएको छ । नेपालले थाइल्यान्डलाई पराजित गरेको हो ।

समूह ‘बी’मा रहेको नेपालले जापानको टोकाइ सिटिजेनमा आज भएको पहिलो खेलमा थाइल्यान्डलाई ४६-४३ अङ्कले पराजित गरेको हो । पहिलो हाफमा नेपाल १५-२४ अङ्कले पछि परेको थियो ।

दोस्रो हाफमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै ३१ अङ्क जोड्यो । थाइल्यान्डले भने १९ अङ्क मात्र जोड्न सक्यो ।

समूह ‘बी’मा नेपाल र थाइल्यान्डसँगै श्रीलङ्का र चाइनिज ताइपेइ रहेका छन् । नेपालले बुधबार समूह चरणको दोस्रो खेलमा चाइनिज ताइपेइसँग खेल्ने महिला टोलीकी प्रशिक्षक पार्वती राईले जानकारी दिनुभयो । उहाँले आजको जितबाट नेपाली टोली उत्साहित भएको बताउनुभयो ।

चार टोली सहभागी समूह ‘बी’बाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह ‘ए’मा भारत, बङ्गलादेश, जापान र इरान रहेका छन् ।

यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुदमा नेपालले महिला कबड्डीमा कास्य पदक प्राप्त गरेको थियो । रासस

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २०:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update