रे समाचार/काठमाडौं । शेयर बजारमा आज गिरावट आएको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो । नेप्से परिसूचक आज २०.२७ अंक घटेर २७३५.१४ विन्दुमा झरेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार ५ अर्ब ६२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
कालिञ्चोक हाइड्रोपावरको शेयर आज पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य आज ११३ रुपैयाँ ६० पैसा बढेर ८७१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । यसैगरी, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य १३ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य १० प्रतिशतले बढेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने आज सर्वाधिक ७.१४ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २० करोड ४६ लाख २९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । यसैगरी, लक्ष्मी बैंक डिबेञ्चरको १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत् कम्पनीको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ । १३ वटा उपसमूहमध्ये आज एउटा उपसमूहको परिसूचक बढेको छ भने १२ वटा उपसमूहको परिसूचक घटेको छ ।
