- अमेरिका र इरानलाई वार्ता पुनः सुरु गर्न राष्ट्रसङ्घको आग्रह ।
- कूटनीतिक समाधान नै द्वन्द्व अन्त्यको प्रभावकारी उपाय भएको भनाइ ।
- मध्यस्थता प्रयासमा कतारसहित पाँच देशको सहयोग जारी ।
संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानलाई कूटनीतिक माध्यमबाट द्वन्द्व अन्त्य गर्न वार्ता पुनः सुरु गर्न आह्वान गर्नुभएको छ ।
महासचिवका प्रवक्ता स्टेफन डुजारिकले लामो समयसम्म द्वन्द्व चलिरहनु दुःखद भएको भन्दै यसको प्रभावकारी समाधान कूटनीतिक माध्यमबाट मात्रै सम्भव हुने बताउनुभयो । उहाँले अमेरिका र इरान दुवैलाई अर्थपूर्ण वार्तामा सहभागी हुन आग्रह गर्नुभयो ।
संयुक्त राष्ट्रसङ्घले कतार, पाकिस्तान, इजिप्ट, साउदी अरेबिया र कुवेतको मध्यस्थता प्रयासलाई समर्थन गरेको डुजारिकले बताउनुभयो । महासचिव गुटेरेस ती देशसँग निरन्तर सम्पर्कमा रहेको उहाँको भनाइ छ ।
गुटेरेसका लागि द्वन्द्वको मानवीय तथा आर्थिक प्रभाव मुख्य चिन्ताको विषय रहेको डुजारिकले बताउनुभयो । खाद्य आपूर्ति, विश्वव्यापी अर्थतन्त्र, मानवीय आवश्यकताका सामग्री तथा ऊर्जाको मूल्यमा भएको वृद्धिले समेत गम्भीर असर पारेको उहाँले उल्लेख गर्नुभयो ।
महासचिवका व्यक्तिगत दूत जीन अर्नाल्ट सम्बन्धित पक्ष र मध्यस्थकर्तालाई स्थायी समाधानका लागि सहयोग गर्न निरन्तर सम्पर्कमा रहेको प्रवक्ता डुजारिकले बताउनुभयो ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेका थिए । त्यसको जवाफमा इरानले इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य आधारमा आक्रमण गरेको थियो ।
त्यसपछि विश्वव्यापी ऊर्जा व्यापारको प्रमुख समुद्री मार्ग होर्मुज जलमार्ग अवरुद्ध हुँदा तेल तथा वस्तुको आपूर्ति प्रभावित भएको थियो ।
गत जुन १८ मा अमेरिका र इरानले अन्तिम सम्झौतामा पुग्न ६० दिनभित्र वार्ता गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । तर, दुई देशबीच नयाँ तनाव बढेपछि वार्ता पूर्वयोजनाअनुसार अघि बढ्न नसकेको समाचारमा जनाइएको छ । सिन्ह्वा
