- घाइतेको उद्धार र शव व्यवस्थापनमा १०० भन्दा बढी एम्बुलेन्स ।
- विभिन्न १० जिल्लाका एम्बुलेन्स निःशुल्क परिचालन ।
- नुवाकोटमा तीन एम्बुलेन्स बगे, रसुवाका पाँच सम्पर्कविहीन ।
चितवन । भोटेकोशी बाढीबाट घाइते भएकाको उद्धार तथा मृतकको शव व्यवस्थापनका लागि १०० भन्दा बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन् । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा प्रयोग भएका छन् ।
संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालका केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौँ उपत्यकाका एम्बुलेन्ससमेत उद्धार तथा व्यवस्थापनमा जुटेका छन् । अधिकांश एम्बुलेन्सले घाइतेलाई अस्पताल र घटनास्थलबाट शवलाई शवगृहसम्म निःशुल्क पुर्याइरहेका छन् ।
टाढा पुर्याउनुपर्ने अवस्थामा नेपाल रेडक्रस सोसाइटी, स्थानीय तहलगायत सङ्घसंस्थाले इन्धन सहयोग गरिरहेका छन् । लामिछानेका अनुसार चितवनमा ४५, नवलपरासी पूर्वमा सात, नवलपरासी पश्चिममा १०, गोरखामा १०, धादिङमा १५, नुवाकोटमा छ, कपिलवस्तुमा पाँच र रुपन्देहीमा पाँच वटा एम्बुलेन्स परिचालन भएका छन् ।
काठमाडौँ उपत्यकामा अस्पतालबाट पशुपति तथा वरपरका घरसम्म शव निःशुल्क पुर्याइएको छ । बाढीमा नुवाकोटका तीन वटा एम्बुलेन्स बगेका छन् भने एउटा पुरिएको अवस्थामा फेला परेको छ । रसुवामा रहेका पाँच वटा एम्बुलेन्सका चालक तथा कर्मचारी हालसम्म सम्पर्कमा नआएको लामिछानेले बताउनुभयो ।
“एम्बुलेन्स चालक रातदिन शव व्यवस्थापन र घाइतेको उद्धारमा खटिनुभएको छ,” अध्यक्ष लामिछानेले भन्नुभयो । रासस
