RayNewsDaily
 रे टेलिभिजनले 'छिङहाई-सिचाङ रेलमार्गः यात्राभरिको भेट' विशेष वृत्तचित्र प्रदर्शन गर्दै

रमेश हुतवाली/विराटनगर । रे टेलिभिजन एचडी काठमाण्डूले "छिङहाई सिचाङ रेलमार्गः यात्राभरिको भेट" विशेष वृत्तचित्र प्रस्तुत गर्ने भएको छ । 

आज साँझ सो टेलिभिजनले काठमाण्डूको धापासीमा एक भव्य समारोहबीच उक्त वृत्तचित्र प्रदर्शन गर्न लागेको हो । रे टेलिभिजनका अध्यक्ष प्रकाश बाबु पौडेलका अनुसार सो वृत्तचित्र चीनको सिचाङ (तिब्बत) मा अत्याधुनिक रेल सेवा सञ्चालन भएको २० औं वार्षिकोत्सवका अवसरमा सो प्रदर्शन गर्न लागिएको हो । 

प्रदर्शन समारोहमा चीनका लागि पूर्व नेपाली राजदूत विष्णु पुकार श्रेष्ठ, विभिन्न मैत्री संस्थाका प्रतिनिधिहरु, समाजसेवी, राजनीतिकर्मी, व्यवसायी, विद्यार्थी, शिक्षक र सञ्चारकर्मी लगायतको सहभागिता रहने भएको छ । 

चाईना ग्लोवल टेलिभिजन नेटवर्कले उत्पादन गरेको सो वृत्तचित्रमा तिब्बतको सदरमुकाम ल्हासामा सन् २००६ मा रेलसेवा सुरु भएपछि तिब्बत स्वायत्त प्रदेशभरी त्यसले पारेको सकारात्मक प्रभाव, तिब्बतीहरुको जीवनस्तरलाई अझ विकसित र समृद्ध बनाउन रेल सेवाले निर्वाह गरेको भूमिका, चीन र विश्वका विभिन्न देशहरुबाट उत्साहपूर्वक रेल चढ्न आएका आन्तरिक तथा बाह्य पर्यटकहरुको विचार लगायतका थुप्रै विषयहरुलाई समेटिएको छ । 

झण्डै २५ मिनेट लामो सो वृत्तचित्र हेरेपछि जो कोहीले पनि चीनको सिचाङ प्रदेशमा चीन सरकारले गरेको उल्लेख्य लगानी र त्यसले पारेको सकारात्मक प्रभाव तथा चीन सरकारले सिचाङका नागरिकहरुलाई दिएको महत्व स्पष्ट हुने बताईएको छ । 
 

प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update