- पीडितको पहिचान खुल्ने सामग्री प्रकाशित नगर्न आग्रह ।
- प्रकाशित सामग्री तत्काल हटाउन सञ्चारमन्त्रीको अनुरोध ।
- पीडितको गोपनीयता र गरिमा जोगाउन जोड ।
रे समाचार/काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बलात्कार तथा यौन हिंसाका घटनामा पीडितको पहिचान खुल्ने कुनै पनि सामग्री प्रकाशन तथा प्रसारण नगर्न सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ ।
सामाजिक सञ्जालमार्फत आज एक अपील जारी गर्दै उहाँले यौन हिंसाका घटनामा पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्नु अत्यन्त संवेदनशील र गम्भीर गैरकानुनी कसुरको विषय भएको बताउनुभएको छ । बालबालिका यौन हिंसाको सिकार भएको अवस्थामा उनीहरूको पहिचान सार्वजनिक गर्नु अझ गम्भीर कसुर हुने उहाँको भनाइ छ ।
मन्त्री तिमिल्सिनाले समाचार तथा अन्य सामग्री सम्प्रेषण गर्दा पीडितको गरिमा, गोपनीयता, सुरक्षा र भविष्यमा पर्न सक्ने प्रभावलाई विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । उहाँले यस्तो अभ्यास नेपालको विद्यमान कानुनी व्यवस्था, पत्रकारिता आचारसंहिता, अन्तर्राष्ट्रिय मानवअधिकार तथा जिम्मेवार पत्रकारिताको स्थापित मान्यतासमेत भएको उल्लेख गर्नुभएको छ ।
उहाँले सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई पीडितको पहिचान खुल्ने तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन, प्रसारण वा पुनःप्रसारण नगर्न आग्रह गर्नुभएको छ । यसअघि प्रकाशित भइसकेका त्यस्ता सामग्री तत्काल हटाउनसमेत उहाँले आग्रह गर्नुभएको छ ।
‘अपराधको समाचार सार्वजनिक गर्नु आवश्यक छ, तर अपराधको रिपोर्टिङ गर्दा पीडितको अधिकार, गरिमा र गोपनीयताको मूल्य बिर्सनु हुँदैन’ मन्त्री तिमिल्सिनाले भन्नुभएको छ ।
पीडितको पहिचान गोप्य राख्नु कानुनी दायित्व मात्र नभई सामाजिक जिम्मेवारी, मानवीय संवेदना र सभ्य समाजप्रतिको प्रतिबद्धतासमेत भएको उहाँले बताउनुभएको छ ।
