RayNewsDaily
बाढीले रसुवाका हाइड्रोपावर सोहोर्‍यो, सबस्टेसन नै बगाएपछि विद्युत् आपूर्ति ठप्प
तस्वीर सामाजिक सञ्जाल ।
  • तिब्बतबाट आएको भीषण बाढीले रसुवागढी, चिलिमे र त्रिशूली ३ 'बी'सहित आधा दर्जन विद्युत् गृहमा क्षति ।
  •  त्रिशूली ३ 'बी' हबको २२० केभी सबस्टेसन बाढीले बगाएपछि प्रसारण लाइन र विद्युत् आपूर्ति पूर्ण ठप्प ।
  •  तटीय क्षेत्रमा जोखिम अझै कायमै, सर्वसाधारणलाई सुरक्षित स्थानमा रहन प्राधिकरणको आग्रह ।

​​​​​रे समाचार/काठमाडौँ । तिब्बत क्षेत्रबाट आएको भीषण बाढीका कारण रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सबस्टेसनहरूमा ठूलो क्षति पुगेको छ । बाढीले विद्युत् गृह र पूर्वाधार ढालेपछि रसुवासहित आसपासका क्षेत्रमा विद्युत् आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार बाढीले १११ मेगावाटको रसुवागढी, २२ मेगावाटको चिलिमे, ६० मेगावाटको त्रिशूली ३ ‘बी’, त्रिशूली-३ ‘ए’, त्रिशूली र देवीघाट जलविद्युत् केन्द्रमा प्रत्यक्ष क्षति पुर्‍याएको छ ।

सबैभन्दा बढी क्षति त्रिशूली-३ ‘बी’ हबको २२० केभी सबस्टेसनमा पुगेको छ, जुन बाढीले बगाएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।

विद्युत् उत्पादन, प्रसारण र वितरणका संरचनाहरू क्षतविक्षत बनेपछि ऊर्जा पूर्वाधार प्रणाली नै प्रभावित हुने जोखिम बढेको छ । प्राधिकरणले संरचनामा पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन भइरहेको र विद्युत् सेवा यथाशीघ्र सुचारु गर्न प्राविधिक टोली खटाइएको जनाएको छ । साथै, नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन र अपुष्ट अफवाहको पछि नलाग्नसमेत आग्रह गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update