रे समाचार/काठमाण्डू । नेपाल समाज मिडिया प्रालिले काठमाण्डूमा "हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्म" का विषयमा विशेष छलफलको आयोजना गरेको छ ।
कार्यक्रम बौद्ध धर्मका लामा गुरुहरुले हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्मका विषयमा गहन र तार्किक बहस गर्नुभएको थियो ।
कार्यक्रम नेपालका बौद्ध विद्वान, भुटानका बौद्ध विद्वानका साथै बौद्ध धर्मका जानकार र शोधकर्ताहरु उपस्थिति रहेको थियो । कार्यक्रममा बौद्ध विद्वान र गुरुहरुले हिमाली बौद्ध धर्ममा जीवन र पुनर्जन्मका विविध पक्षका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उपस्तिथि बौद्ध विद्वान र जानकारहरुले सो कार्यपत्र प्रस्तुतीपछि प्रश्नोतर र टिप्पणी पनि गरिएको थियो ।
कार्यक्रममा विशेष अतिथि नामग्याल रिन्पोछेले मानिसले अहिले बाचिरहेको जीवनलाई हेरेर मात्र काम गरेमा धर्म नहुने बताउनुभयो । आफूले पछिको जीवनलाई हेरेर काम गर्नुपर्ने जनाउँदै यो नै धर्मको भएको भगवान बुद्धले बताउनुभएको जानकारी दिनुभयो ।
कार्यक्रममा नेपाल बौद्ध महासंघका अध्यक्ष गेसे थुप्तेन जिन्पाले ‘चेतना, मृत्यु र पुनर्जन्मसम्बन्धी बौद्ध अवधारणा’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । जसमा उहाँले चेतनाको उत्पत्तिका लागि आलम्बनप्रत्यय, अधिपतिप्रत्यय र अनन्तरप्रत्यय लगायतका विषयको महत्वको बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल बौद्ध महासंघका पूर्वअध्यक्ष आचार्य नुर्बु शेर्पाले ‘मनको प्रकृति र पुनर्जन्मसम्बन्धी बौद्ध दृष्टिकोण’ विषयमा कार्यपत्र प्रस्तुत गर्नु भइ त्यसमा पुनर्जन्म र कर्मफलका विषयमा बौद्ध, वैदिक तथा भौतिकवादी धाराबीच रहेको भिन्नतालाई व्याख्याको जानकारी दिनुभएको थियो ।
कार्यक्रममा खेन्पो जामयाङ लोड्रोले ‘मन, कर्म र पुनर्जन्म’का विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले मन, कर्म र पुनर्जन्मबीचको सम्बन्ध तथा बौद्ध दर्शनमा यसको महत्वबारे कार्यपत्रमार्फत धारणा प्रस्तुत गरे । कार्यक्रममा आचार्य छोपाल ग्याछोले भार्दोको अवधारणालाई जीवन, मृत्यु र पुनर्जन्मको प्रक्रियासँग जोडेर व्याख्या गर्दै ‘भार्दो र चेतनाको निरन्तरता’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
भुटानका बौद्धविद्वान डा. कर्मा फुन्छोकले भर्चुअल माध्यमबाट जोडिनुभएको थियो । उहाँले ‘मन, कर्म र पुनर्जन्मसम्बन्धी हाम्रा धारणाको पुनःमुल्याङ्कनः २१ औं शताब्दीमा बौद्ध चिन्तन’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रस्तुत भएका कार्यपत्रमाथि निकै गहन र तार्किक टिप्पणी गरिएको थियो । नेपाल बौद्ध महासंघका प्रमुख कार्यकारी अधिकृत आचार्य सार्की शेर्पाले कार्यपत्रहरुमा सटिक टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रममा प्रस्तुत भएका कार्यपत्र र विषयहरु गहिरो र जानकारीमुलक रहेको सहभागीहरुको प्रतिक्रिया थियो । कार्यक्रम उठेका धेरै विषयहरु समाजवाद, भौतिकवाद, माक्र्सवाद जस्ता वाद र विचारसँग मिल्दाजुल्दा भएको तर्कहरु उठेका थिए । आयोजकले यसलाई मध्यनजर गर्दै समाजवाद र बौद्ध विचार विषयमा भविष्यमा कार्यक्रम आयोजना गरिने जानकारी दिएको छ ।
