RayNewsDaily
थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले देश छाडे

बैङ्कक । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले बिहीबार अनपेक्षित रूपमा देश छाड्नुभएको छ । उहाँले देश छाडेको पाँच दिनपछि अदालतले उहाँलाई नयाँ जेल सजाय सुनाउन सक्नेछ ।     
     
उहाँको प्रस्थान छोरी पेटोङ्टार्न सिनावात्रालाई संवैधानिक अदालतले प्रधानमन्त्री पदबाट हटाएको एक हप्तापछि भएको हो । अदालतले पेटोङ्टार्नलाई कम्बोडियाका सिनेट अध्यक्ष हुन सेनसँग राजनीतिक सम्झौतासम्बन्धी फोनकलका कारण नैतिकता उल्लङ्घनमा दोषी ठहर गरेको थियो ।     
     
पेटोङ्टार्नको उत्तराधिकारी चयनका लागि शुक्रबार संसद्मा मतदान हुने तय थियो । धेरैले यसलाई थाक्सिनको दुई दशकभन्दा लामो राजनीतिक प्रभावको अन्त्यको सङ्केतको रूपमा हेरेका छन् । यस अवधिमा उहाँविरुद्ध थुप्रै मुद्दा दर्ता भए पनि उहाँले जेलमा लामो समय बिताउनुभएको छैन ।     
     
बैङ्ककको डन मुयाङ विमानस्थलमा थाक्सिनले अध्यागमन अधिकारीलाई आफ्नो निजी जेट सिङ्गापुरतर्फ जाने बताउनुभयो । प्रहरीले पुष्टि गरेअनुसार उहाँमाथि कुनै गिरफ्तारी वारेन्ट वा रोक आदेश नभएकाले ७ बजेपछि विमानलाई उडान अनुमति दिइयो ।     
     
तर एपीले विश्लेषण गरेको फ्लाइट–ट्र्याकिङ डाटाले उहाँको बोम्बार्डियर बीडी-७०० जेट सिङ्गापुरतर्फ गएको देखिए पनि अचानक पश्चिम फर्केर दुईपटक घुमी भारततर्फ अघि बढेको देखाएको छ ।     
     
थाक्सिनले एक्समा उहाँ मेडिकल चेकअपका लागि सिङ्गापुर जान लागेको तर थाई अध्यागमन प्रक्रियाले दुई घण्टा ढिलाइ गरेको लेख्नुभएको छ । सेलेटार विमानस्थलको राति १० बजेपछि बन्द हुने नियमका कारण विमान अवतरण गर्न नसक्ने भएपछि उहाँले मार्ग परिवर्तन गरी दुबई जाने निर्णय गरेको बताउनुभयो ।     
     
थाक्सिन सन् २००८ मा सुरु भएको स्व–निर्वासन अवधिमा दुबईमै बस्दै आउनुभएको थियो । उहाँले त्यहाँ आफ्ना नियमित चिकित्सकहरू रहेको उल्लेख गर्नुभयो ।     
     
उहाँको यो यात्राले सम्भावित जेल सजाय टार्ने प्रयास भएको शङ्का जन्माएको छ । तर उहाँले मङ्गलबार अदालतमा उपस्थित हुन थाइल्यान्ड फर्किने इच्छा प्रकट गर्नुभएको छ ।     
     
थाक्सिन सन् २००१ देखि सन् २००६ मा सैनिक कूले अपदस्थ नभएसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो । सन् २००८ मा संक्षिप्त रूपमा थाइल्यान्ड फर्किए पनि भ्रष्टाचार मुद्दाको फैसला अघि उहाँ फेरि विदेश जानुभयो ।     
     
भ्रष्टाचार, शक्तिको दुरुपयोग र राजतन्त्रप्रति अनादरका आरोपमा उहाँलाई निर्वासन गरिएको थियो । सन् २०२३ मा उहाँ फर्केर भ्रष्टाचारसम्बन्धी तीन मुद्दामा आठ वर्षको सजाय भोग्नुपर्ने थियो । तर स्वास्थ्य कारण जेलको सट्टा पुलिस जनरल अस्पतालमा राखिनुभयो । पछि राजा महा भाजिरालोङ्गकोर्नले सजाय एक वर्षमा घटाइदिनुभयो र उहाँ छ महिनापछि प्यारोलमा रिहा हुनुभयो ।     
     
विशेष उपचार पाएको आरोपबीच मङ्गलबारको सर्वोच्च अदालतको फैसला निर्णायक हुने मानिएको छ । अदालतले सुधार विभागले उहाँको मुद्दा कानूनअनुसार सम्हालेको वा नसम्हालेको भन्ने ठहर गर्नेछ । यदि थाक्सिन प्रत्यक्ष संलग्न ठहर हुनुभयो भने नयाँ जेल सजाय सम्भावित छ ।     
     
पद छाडेयता थाक्सिनले मुद्दाहरूलाई राजनीतिक प्रेरित भन्नुभएको छ । गत महिना उहाँलाई शाही मानहानि (लेसे-माजेस्टे) आरोपबाट मुक्त गरिएको थियो । उक्त आरोपले उहाँलाई १५ वर्षको जेल सजाय दिन सक्थ्यो ।     
     
उहाँकी बहिनी, यिङलक सिनावात्रा सन् २०१७ मा अपदस्थ भएपछि पनि दुबईमा निर्वासनमा हुनुहुन्छ र अनुपस्थितिमा दोषी ठहर हुनुभएको छ ।     
     
दुबई, संयुक्त अरब इमिरेट्सको सबैभन्दा ठूलो सहर, राजनीतिक वा कानूनी चुनौती भोगेका नेताहरूको आश्रयस्थल रहँदै आएको छ ।     
     
त्यहाँ पाकिस्तानी जनरल परवेज मुशर्रफले समेत बसोबास गर्नुभएको थियो । मुशर्रफले सन् १९९९ मा कू गरी सत्ता कब्जा गर्नुभएको थियो र पछि अफगान युद्धमा अमेरिका पक्षमा उभिनुभएको थियो । एपी 

प्रकाशित मिति: शुक्रबार, भदौ २०, २०८२  १४:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update