- रुसी आक्रमणमा सर्वसाधारणको मृत्यु र दर्जनौँ घाइते भएको दाबी ।
- युक्रेनमा २७७ आक्रमणकारी ड्रोन प्रयोग भएको जेलेन्स्कीको भनाइ ।
- रुसको वित्तीय तथा हतियार आपूर्ति सञ्जालमा थप प्रतिबन्धको तयारी ।
किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले किएभसहित विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी रहेको बताउँदै रुसमाथि थप कडा अन्तर्राष्ट्रिय दबाब र प्रतिबन्ध लगाउन आग्रह गर्नुभएको छ । उहाँले रुसी आक्रमणमा सर्वसाधारणको मृत्यु, दर्जनौँ घाइते तथा नागरिक पूर्वाधारमा क्षति भएको बताउनुभएको छ ।
एक्समा आइतबार पोस्ट गर्दै उहाँले रुसी जेट इन्जिनयुक्त ड्रोनले किएभका दुई बालविकास केन्द्र, दुई विद्यालय, आवासीय भवन, मोटर मर्मत केन्द्र, गोदाम तथा सञ्चार संरचनामा आक्रमण गरेको दाबी गर्नुभयो । उहाँका अनुसार अघिल्लो दिनदेखि रुसले २७७ वटा आक्रमणकारी ड्रोन प्रयोग गरेकोमा १५५ वटा जेट इन्जिनयुक्त थिए ।
किएभमा साउदी अरबका राजदूतको निवासका रूपमा प्रयोग भइरहेको भवन तथा डिनिप्रोको खेलकुद विद्यालय र सुमीको क्षेत्रीय बालगृहमा समेत क्षति पुगेको उहाँले बताउनुभयो ।
रुसले तनाव कम गर्ने दिशामा अघि बढिरहेको दाबीप्रति प्रतिक्रिया दिँदै राष्ट्रपति जेलेन्स्कीले त्यस्तो तयारी भए किएभमा यति ठूलो ड्रोन आक्रमण नहुने बताउनुभयो । उहाँले रुसले कूटनीतिक सङ्केतमार्फत युद्धप्रतिको अन्तर्राष्ट्रिय प्रतिक्रियामा ढिलाइ गराउने प्रयास गरिरहेको आरोप लगाउनुभयो ।
उहाँले अमेरिकी प्रतिबन्धसम्बन्धी कानुन कार्यान्वयन गर्न तथा जी–७ र जी–२० का साझेदारसहित अन्तर्राष्ट्रिय समुदायबाट रुसमाथि थप दबाब दिन आग्रह गर्नुभयो । रुसी वित्तीय सञ्जाल, हतियार उत्पादनमा प्रयोग हुने सामग्री तथा उपकरणको आपूर्ति सञ्जाल र ब्यालिस्टिक क्षेप्यास्त्र उत्पादनमा संलग्न कम्पनी तथा व्यक्तिविरुद्ध नयाँ प्रतिबन्धका प्याकेज तयार भइरहेको उहाँले बताउनुभयो ।
यसैबीच, रुसी समाचार संस्था तासका अनुसार युक्रेनको सशस्त्र बलले पछिल्लो २४ घण्टामा डोनेट्स्क जनगणतन्त्रको आवासीय क्षेत्रमा ११ पटक गोलाबारी गरेको रुसी पक्षले जनाएको छ । गोलाबारीबाट दुई आवासीय भवन र दुई नागरिक पूर्वाधारमा क्षति पुगे पनि सर्वसाधारणतर्फ कुनै हताहत नभएको जनाइएको छ ।
रुसी रक्षा मन्त्रालयले रुसका विभिन्न क्षेत्र तथा कृष्ण सागरमा ४३ वटा युक्रेनी ड्रोन नष्ट गरेको तथा किएभको ओमेगा टेलिकम तथ्याङ्क केन्द्र, ओडेसाको नोभाया पोच्टा रसद केन्द्र र सैन्य उपकरण बोकेको कार्गो जहाजमा आक्रमण गरेको दाबी गरेको छ । यी दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेका छैनन् ।
यसअघि सेप्टेम्बर २६ मा राष्ट्रपति जेलेन्स्कीसँगको भेटपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन दुवै युद्ध समाधान गर्न चाहेको बताउनुभएको थियो ।
यसैबीच, राष्ट्रपति जेलेन्स्कीले सेप्टेम्बर २३ मा संयुक्त राष्ट्रसङ्घको महासभामा सम्बोधन गर्दै भारतसहित ४६ देशलाई आफ्ना नागरिकलाई छल तथा विभिन्न उपायमार्फत युद्धमा संलग्न हुनबाट रोक्न आग्रह गर्नुभएको थियो । एएनआई
