- बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार कार्य जारी ।
- पर्वत, नवलपरासी, पाल्पा र धनुषामा फौज परिचालन ।
- तनहुँको घाँसीकुवामा पहिरो हटाएर पृथ्वी राजमार्ग सुचारु ।
रे समाचार/काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न भागमा गएको बाढी, पहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज, उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा सडक खुलाउने कार्य जारी राखेको छ ।
पर्वतको जलजला गाउँपालिका-८ फर्सेमा कालीगण्डकी नदी बस्तीमा पस्दा घर बगाएको खबर प्राप्त भएपछि नयाँ रणभीम गुल्मबाट खटिएको सेनाको टोलीले स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न तथा सरसामान सार्न सहयोग गरिरहेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को मध्यबिन्दु नगरपालिका-२ भुताहामा नारायणी नदीको बहाव बढेर बाढी तथा डुबानको जोखिम सिर्जना भएपछि स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न नं. २ वन तथा पर्यावरण सुरक्षा गणको फौज परिचालन भएको छ । सुस्ता गाउँपालिका-५ स्थित सुस्ता क्षेत्रमा पनि डुबानको जोखिम रहेकाले गोरखदल गणको सुरक्षा वेश त्रिवेणीबाट फौज खटिएर स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिरहेको छ ।

पाल्पाको माथागढी गाउँपालिका-३ लेन्दीमा पहिरोले घर पुरेको सूचना प्राप्त भएपछि दि फेमस महिन्द्र दल गणको फौज घटनास्थलमा पुगेर खोज तथा उद्धार कार्यमा जुटेको छ ।
भरतपुर महानगरपालिका-१ देवघाट र वडा नं. ३ बाह्रघरेमा नारायणी नदीको सतह बढेपछि नयाँ सबुज गणको फौज स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न खटिएको छ ।
धनुषाको मिथिला नगरपालिका-११, आपगाछी, चुरेमा पहिरो गई घर पुरिएको सूचना प्राप्त भएपछि नेपाली सेनाको फौज खोज तथा उद्धारका लागि परिचालन भएको छ ।

यसैबीच, तनहुँको व्यास नगरपालिका-१२ घाँसीकुवास्थित पृथ्वी राजमार्गमा पहिरो र लेदो खसेर अवरुद्ध सडक नेपाली सेनाको काली भञ्जन गण (ई) बाट खटिएको फौजले स्थानीय निकायसँगको सहकार्यमा अवरोध हटाएपछि पूर्णरुपमा सञ्चालनमा आएको छ ।
नेपाली सेनाले बाढी, पहिरो तथा डुबानबाट प्रभावित अन्य क्षेत्रमा समेत खोज तथा उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण र सडक खुलाउने कार्यलाई निरन्तरता दिएको जनाएको छ ।
