
रे समाचार/काठमाडौं । चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व विरोधी फासीवादी युद्धमा विजयको ८० औं वार्षिकोत्सव मनाउन तियानआनमेन स्क्वायरमा गरिएको सजावट कार्य पूरा भएको छ । स्क्वायरको सजावट पैचिङको केन्द्र भागलाई मुख्य मार्गको रूपमा लिएर गरिएको छ । जसमा दुबैपट्टि समानान्तर सजावट गरिएको छ ।
स्मारक स्थलमा “१९४५-२०२५” लेखिएको दुईवटा सम्झनात्मक प्लेटफर्म राखिएको छ । जसले एकता र विजयको भावना झल्काउँछ । प्लेटफर्महरूमा चीनको प्रसिद्ध ग्रेटवालको आकृति प्रयोग गरिएको छ, जुन सांस्कृतिक एकताको प्रतीक हो । प्रत्येक पक्षमा सातवटा शान्तिका परेवा छन्, जसले १४ वर्ष लामो प्रतिरोध युद्धको प्रतिनिधित्व गर्छन् । डिजाइन निर्देशक तियान झोङलीका अनुसार उडिरहेका १४ वटा शान्तिका परेवाले विश्वभरका शान्तिप्रेमीहरूको शान्तिको खोज र प्रतिबद्धता दर्शाउँछन् ।
भोलि बुधबार तियानआनमेन स्क्वायरमा भव्य सैन्य परेड आयोजना हुनेछ । सो कार्यक्रमको रे टेलिभिजनले बिहान सात बजेदेखि प्रत्यक्ष प्रसारण गर्ने भएको छ । उक्त कार्यक्रमले चीनको ऐतिहासिक विजयको सम्झना दिलाउनेछ । चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको प्रतिरोध युद्ध र विश्व विरोधी फासीवादी युद्धमा विजयको ८० औं वार्षिकोत्सव मनाउनका लागि आयोजना हुने समारोहमा सहभागी हुन आज थप विदेशी विशिष्ट व्यक्तिहरू पैचिङ पुगेका छन् ।