
ब्रसेल्स । युरोपेली सङ्घका प्रमुख एन्टोनियो कोस्टाले किभमा रुसले गरेको घातक आक्रमणबाट आफू ’भयभीत’ भएको बताउनुभएको छ ।
युरोपेली परिषद्का अध्यक्ष कोस्टाले एक्समा लेख्नुभएको छ, “यो समय हामी युक्रेनी पीडित र इयू प्रतिनिधिमण्डलका कर्मचारीहरूको सहयोगका लागि तयार छौँ ।”
उहाँले भन्नुभयो, “इयू डराउने छैन । रुसको आक्रामकताले युक्रेन र त्यहाँका जनताको पक्षमा उभिने हाम्रो सङ्कल्पलाई बलियो बनाएको छ ।”
कोस्टाले एउटा कार्यालयको भित्री भागको तस्वीर पोस्ट गर्नुभएको छ यसमा झ्यालहरू फुटेका छन्, छत आंशिक रूपमा तल झुन्डिएको छ र आक्रमणका कारण खसेका भवन र झ्यालका भाग भुइँमा छरिएका छन्।”
युक्रेनका लागि इयूका राजदूत क्याटरिना माथेरनोभाले विस्फोटको झट्काले नियोगको भवनमा गम्भीर क्षति पुगेको बताउनुभएको छ ।
इयूका एक अधिकारीले एएफपीसँग कुरा गर्दै इयूका कुनै पनि कर्मचारीलाई चोट पटक नलागेको बताएका छन् ।
युक्रेनी अधिकारीहरुले रातभर भएको बमबारीमा एक बालकसहित १० जनाको मृत्यु भएको बताएका छन् ।
इयूका उच्च कूटनीतिज्ञ काजा कल्लासले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ, “विश्वले शान्तिको बाटो खोजिरहेको बेला रुसले क्षेप्यास्त्रप्रहार गरेको छ ।”
“किएभमा रातिको समयमा भएको आक्रमणले रूसले शान्ति प्रयासलाई नबढाउने र खिल्ली उडाउने सुनियोजित निर्णय गरेको देखाउँछ,” उहाँले भन्नुभयो । एएफपी