RayNewsDaily
जापानमा सामन्ती सरदारको मूर्तिको शिर छेदन        

टोकियो । जापानको एक सपिङ आर्केड बाहिर १६औँ शताब्दीका शक्तिशाली सरदार तथा समुराई टोयोटोमी हिदेयोसीको मूर्तिको टाउको काटिएको घटना बुधबार सार्वजनिक भएको छ । यो जानकारी पसलका अधिकारी र मिडिया रिपोर्टमार्फत प्राप्त भएको हो ।     
     
टोयोटोमी हिदेयोसीले १६औँ शताब्दीमा जापानको एकीकरण गरेका थिए । उनी कोरियाली प्रायद्वीपमा गरेका असफल आक्रमणका कारण पनि परिचित छन् ।     
     
नागोयास्थित एन्डोजी सपिङ आर्केडको सङ्घले उक्त मूर्तिलाई समुदायको प्रतीकात्मक आकृति मान्दै आएको छ । सङ्घका एक सदस्यले भने, “हामी यसबारेमा क्षतिको रिपोर्ट प्रहरीमा दर्ता गर्ने विचार गरिरहेका छौँ ।”     
     
तर कसले र किन यो क्षति पुर्‍यायो भन्ने विषयमा कुनै जानकारी नभएको पनि उनले बताए ।     
     
उक्त सपिङ आर्केड बाहिर राखिएका अन्य लडाकु मूर्तिहरू पनि विगतमा तोडफोडको शिकार भएका थिए । यी सबै मूर्ति सन् २०१३ मा एक घरजग्गा कम्पनीले दान गरेको थियो ।     
     
सन् २०२२ मा टोयोटोमीको प्रतिद्वन्द्वी तथा टोकुगावा शोगुन शासन (इडो युग) का संस्थापक टोकुगावा इयासुको मूर्तिलाई खसालिएको थियो र त्यसमा प्वाल बनाइएको थियो । यसअघि, सन् २०१९ मा अर्का प्रसिद्ध सरदार ओडा नोबुनागाको मूर्ति हातविहीन अवस्थामा फेला परेको थियो ।     
     
हिदेयोसी, इयासु र नोबुनागा- यी तिनै जना जापानका सबैभन्दा प्रसिद्ध सामन्ती सरदार हुन् । यिनीहरूले करिब एक सय वर्ष लामो युद्धरत राज्यहरूको कालखण्ड अन्त्य गरी जापानलाई एकताबद्ध गर्न सङ्घर्ष गरेका थिए ।     
     
हालका वर्षहरूमा अन्य मुलुकहरूमा पनि ऐतिहासिक व्यक्तित्वका मूर्तिहरू विवादको विषय बनेका छन् । विशेष गरी उपनिवेशवाद र दासत्वसँग सम्बन्धित व्यक्तिहरूका मूर्तिहरूलाई लिएर कडा बहस हुने गरेको छ । एएफपी

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १२:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update