
पैचिङ । चीनले गाजा शहरलाई आफ्नो नियन्त्रणमा लिने इजरायलको योजनाप्रति शुक्रबार ‘गम्भीर चासो’ व्यक्त गर्दै इजरायललाई ‘आफ्ना खतरनाक कार्यहरू तत्काल रोक्न’ आग्रह गरेको छ ।
“गाजा प्यालेस्टिनी जनताको हो र यो प्यालेस्टिनी भूभागको अविभाज्य भाग हो,” विदेश मन्त्रालयका प्रवक्ताले एएफपीलाई दिएको सन्देशमा भनिएको छ ।
“गाजामा मानवीय सङ्कट कम गर्न र बन्धकहरूलाई मुक्त गर्नका लागि तत्काल युद्धविराम गर्नु नै सही उपाय हो,” सन्देशमा भनिएको छ ।
“गाजा द्वन्द्वको पूर्ण समाधान युद्धविराममा निर्भर गर्दछ। त्यसपछि मात्र तनाव कम गर्ने मार्ग प्रशस्त गर्न सकिन्छ र क्षेत्रीय सुरक्षा सुनिश्चित गर्न सकिन्छ,” चिनियाँ प्रवक्ताद्वारा सन्देशमा भनिएको छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्रस्ताव गरेको र उहाँको सुरक्षा क्याबिनेटले स्वीकृत गरेको योजनाअन्तर्गत इजरायली सेनाले गाजा शहरलाई आफ्नो नियन्त्रणमा लिने उहाँको कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गाजामा युद्ध भएको झण्डै दुई वर्षपछि नेतन्याहूले यस क्षेत्रका २० लाखभन्दा बढी जनतालाई अनिकालको सङ्घारबाट फिर्ता ल्याउन र प्यालेिस्टनी लडाकूहरूले बन्धक बनाएकाहरूलाई मुक्त गर्न युद्धविरामका लागि देश र विदेशमा दबाबको सामना गरिरहेका छन्।
“गाजा पट्टीमा हमासलाई ‘परास्त’ गर्ने योजनाअन्तर्गत इजरायली सेनाले ‘गाजा शहरलाई आफ्नो नियन्त्रणमा लिने तयारी गर्नेछ र युद्धक्षेत्रबाहिरका नागरिकलाई मानवीय सहायता वितरण गर्नेछ,” प्रधानमन्त्रीको कार्यालयले भनेको छ।
पैचिङले गाजामा जारी द्वन्द्व यथाशीघ्र अन्त्य गर्न अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न इच्छुक रहेको शुक्रबार जनाएको छ । एएफपी