RayNewsDaily
गाजाका लागि घानाको ऐक्यबद्धता : ४० मेट्रिक टन खाद्यान्न सहयोग    

आक्रा । घानाका राष्ट्रपति जोन ड्रमानी महामाले गाजामा जारी मानवीय संकटका पीडितहरूलाई सहयोग पुर्याउने उद्देश्यले ४० मेट्रिक टन राहत सामग्री हस्तान्तरण गर्नुभएको छ ।

उक्त सामग्रीमा घानामा उत्पादित कोको आधारित खाद्य वस्तुहरू रहेका छन्, जसले प्यालेस्टिनी जनताको भोकमरीबाट जोगिन सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।     
     
राष्ट्रपति महामाले भन्नुभयो, “यस सहयोगमार्फत घानाले विश्व शान्ति, मानवता र सहानुभूतिप्रतिको आफ्नो प्रतिवद्धता पुनः पुष्टि गरेको छ ।” उहाँले कोको घानाको एक महत्वपूर्ण प्राकृतिक स्रोत भएको र लाखौं घानाली किसानहरूको आर्थिक जीवनसँग प्रत्यक्ष सम्बन्धित रहेकोसमेत उल्लेख गर्नुभयो ।     
     
उहाँले घानाले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघका प्रस्तावअनुसारको इजरायल र प्यालेस्टाइनबीचको वार्तामार्फत शान्तिपूर्ण सहमतिलाई पूर्ण समर्थन गर्ने धारणा व्यक्त गर्नुभयो ।

सो अवसरमा घानामा नियुक्त प्यालेस्टिनी राजदूत अब्दलफताह अहमद खालिल अलसत्तारीले राष्ट्रपति महामाप्रति र घानाली जनताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै यो सहयोग घानाका जनताको लागि निकै महत्वपूर्ण भएको बताउनुभयो । सिन्ह्वा    

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update